कांग्रेसलाई संस्थापक आदर्शमा फर्काएर पुनर्गठन गर्नुपर्नेमा जोड


काठमाडौं ।

नेपाली कांग्रेस आफ्नो संस्थापककालीन वैचारिक आदर्शबाट टाढिँदै गएको भन्दै पार्टीलाई पुनः वैचारिक, संगठनात्मक र नैतिक आधारमा सुदृढ गर्नुपर्नेमा जोड दिइएको छ।प्रजातान्त्रिक विचार समाजद्वारा आयोजित कार्यक्रममा प्रस्तुत अवधारणामा कांग्रेसको ऐतिहासिक योगदान महत्वपूर्ण भए पनि पछिल्लो समय पार्टीभित्र गुटबन्दी, नेतृत्वकेन्द्रित राजनीति, वैचारिक अस्पष्टता र सत्ताकेन्द्रित प्रवृत्ति बढेको विश्लेषण गरिएको छ।

कार्यक्रममा कांग्रेसको मूल पहिचान राष्ट्रियता, प्रजातन्त्र, समाजवाद, नागरिक स्वतन्त्रता र संवैधानिक राजनीतिको पक्षमा रहेको उल्लेख गर्दै ती विषयलाई समसामयिक नीतिसँग जोडेर अघि बढाउनुपर्ने धारणा राखिएको थियो।पार्टीलाई बलियो बनाउन पारदर्शी सदस्यता प्रणाली, खुला तथा प्रतिस्पर्धात्मक उम्मेदवार छनोट, आर्थिक पारदर्शिता, नीति अनुसन्धान, नियमित प्रशिक्षण र नयाँ पुस्तालाई नेतृत्वमा ल्याउने संस्थागत व्यवस्था आवश्यक रहेको बताइएको छ।

त्यस्तै किसान, शिक्षक, प्राध्यापक, चिकित्सक, इन्जिनियर, वकिल, युवा उद्यमी, सामाजिक अभियन्ता तथा स्थानीय तहमा योगदान गरेका व्यक्तिलाई पार्टीको नीति निर्माण र नेतृत्वमा जोड्नुपर्नेमा जोड दिइएको थियो।कार्यक्रममा बीपी कोइरालाको ‘आत्मवृत्तान्त’ लाई कांग्रेसको संस्थापक आदर्श र नेपाली लोकतान्त्रिक आन्दोलनको राजनीतिक तथा नैतिक आधार बुझ्ने महत्वपूर्ण कृतिका रूपमा प्रस्तुत गरिएको थियो।

कांग्रेसले आफ्नो ऐतिहासिक विरासतलाई कायम राख्न संस्थापक विचार, आन्तरिक लोकतन्त्र र सार्वजनिक सेवाको भावनालाई व्यवहारमा उतार्नुपर्ने धारणा कार्यक्रममा व्यक्त गरिएको थियो।