भन्सार अधिकृत भट्ट जिम्मेवारीबाट हटाइए, विभागमा हाजिर हुन निर्देशन


कञ्चनपुर ।

कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीका भन्सार अधिकृत चक्रदेव भट्टलाई तत्कालका लागि जिम्मेवारीबाट हटाइएको छ।

भन्सार अधिकृत भट्ट र सशस्त्र प्रहरी बल नेपाल ३४ गण कैलालीका एसपी खुमबहादुर केसीबीच भएको विवादबारे थप तथ्य बुझ्न भन्सार विभागले भट्टलाई त्रिपुरेश्वरस्थित विभागमा हाजिर हुन निर्देशन दिएको हो।

भन्सार पास भएर आएको भनिएको भारतीय नम्बर प्लेटको गाडी सशस्त्र प्रहरीले रोकेको विषयलाई लिएर भट्ट र एसपी केसीबीच विवाद भएको थियो। सोही क्रममा भट्टले गाडी नछोडे गृहमन्त्रीदेखि प्रहरी महानिरीक्षक (आईजीपी) सम्मलाई फोन गर्ने भन्दै दबाब दिएको भनिएको अडियोसमेत सार्वजनिक भएको थियो।

विवादबारे विभिन्न विवरण सार्वजनिक भएपछि भन्सार विभागले थप अध्ययन र छानबिनका लागि भट्टलाई विभागमा बोलाएको जनाएको छ। विभागले हालसम्म घटनामा को दोषी वा निर्दोष भन्नेबारे कुनै निष्कर्ष सार्वजनिक गरेको छैन। थप बुझाइपछि आवश्यक प्रक्रिया अघि बढाइने विभागले जनाएको छ।