स्वास्थ्य सेवामा सहज पहुँचलाई प्रदेश सरकारले प्राथमिकता दिने


ललितपुर ।

बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले नागरिकलाई स्वास्थ्य सेवामा सहज पहुँच सुनिश्चित गर्न प्रदेश सरकारले प्राथमिकताका साथ काम गर्ने बताएका छन्।

विश्व मुटु दिवसका अवसरमा आयोजित कार्यक्रममा मुख्यमन्त्री थापाले नागरिक स्वस्थ नभएसम्म देशको विकास सम्भव नहुने भन्दै स्वास्थ्य र शिक्षालाई प्राथमिकतामा राखेर काम भइरहेको बताए।

उनले बागमती प्रदेशका १३ वटै प्रादेशिक अस्पतालमा विशेषज्ञ सेवा विस्तारसँगै एकीकृत स्वास्थ्य सेवा र पोषण प्रवर्द्धनका कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिए।

पूर्वस्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले स्वास्थ्य तथा शिक्षा क्षेत्रमा पर्याप्त लगानी गरी विपन्न वर्गलाई निःशुल्क सेवा उपलब्ध गराउनुपर्ने बताए।

वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान् कोइरालाले रोग लागेपछि उपचार गर्नुभन्दा रोगको रोकथाम र जनचेतनामा जोड दिनुपर्ने बताए।