देशभर बाढीको जोखिम, २६ जिल्लामा उच्च सतर्कता


काठमाडौँ ।

देशका प्रमुख नदीहरूमा जल सतह बढ्दै गएसँगै मध्य तथा पश्चिम नेपालका विभिन्न जिल्लामा आकस्मिक बाढीको जोखिम बढेको छ। बाढी पूर्वानुमान महाशाखाले असोज १० गते बिहान जारी गरेको बुलेटिनमा कोसी, नारायणी तथा सहायक नदीहरूमा जल सतह सतर्कता तहभन्दा माथि पुगेको जनाएको छ।

महाशाखाका अनुसार बागमती, पश्चिम राप्ती, बबईलगायत नदीको बहाव पनि सतर्कता तह नजिक पुगेको छ। शनिबार कोसी, नारायणी, कर्णाली, महाकाली, कन्काई, कमला, बागमती, पूर्वी राप्ती, तिनाउ, बाणगङ्गा, पश्चिम राप्ती र बबई नदीका अधिकांश मापन केन्द्रमा जल सतह उल्लेख्य बढ्ने पूर्वानुमान गरिएको छ।

आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका स–साना नदीमा आकस्मिक बाढीको उच्च जोखिम रहेको छ। गोरखा, कास्की, लमजुङ, मनाङ, मुस्ताङ, नवलपरासी, रुपन्देही, कपिलवस्तु, म्याग्दी, बागलुङ, पर्वत, तनहुँ, स्याङ्जा, पाल्पा, गुल्मी, बाँके, बर्दिया, सुर्खेत, कैलाली, कञ्चनपुर, डोटी, हुम्ला, डोल्पा, जाजरकोट, मुगु र डडेल्धुरालगायत जिल्लामा विशेष सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ।

यसैगरी काठमाडौँ उपत्यकासहित देशका विभिन्न पहाडी तथा तराईका जिल्लामा बाढीको मध्यम जोखिम रहेको जनाइएको छ। आगामी एक–दुई दिन प्रमुख नदीमा जल सतह बढ्ने क्रम जारी रहने सम्भावना रहेकाले तटीय क्षेत्र तथा डुबान भइरहने होचा भूभागका बासिन्दालाई विशेष सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।