काठमाडौं ।
नेपाली कांग्रेसको संस्थापन इतर समूहले १५औँ महाधिवेशनका लागि तयार पार्दै गरेको निर्वाचन निर्देशिकामा पार्टीका सबै तहका कार्यसमितिमा १८ देखि २८ वर्ष उमेर समूहका महिला र पुरुषलाई अनिवार्य प्रतिनिधित्व गराउने व्यवस्था प्रस्ताव गरेको छ।
निर्देशिकाअनुसार केन्द्रदेखि वडासम्म निर्वाचित हुने कार्यसमितिमा एक जना महिला र एक जना पुरुष गरी दुई जना नवयुवाको प्रतिनिधित्व सुनिश्चित गरिनेछ। समावेशी समूह (क्लस्टर) बाट निर्वाचित हुने प्रतिनिधिमा पनि सम्भव भएसम्म १८ देखि २८ वर्ष उमेर समूहका महिला र पुरुषलाई समावेश गर्नुपर्ने व्यवस्था प्रस्ताव गरिएको छ।
निर्धारित उमेर समूहका नवयुवा उपलब्ध नभए अन्य उमेर समूह वा अन्य समावेशी समूहबाट पदपूर्ति गर्न सकिने व्यवस्था पनि निर्देशिकामा राखिएको जनाइएको छ। विषयविज्ञ आवश्यक पर्ने स्थानमा विषयविज्ञको सहभागितालाई समेत अनिवार्य गर्ने प्रस्ताव गरिएको छ।
एकराज पोख्रेल संयोजक रहेको केन्द्रीय निर्वाचन समितिले तयार गरिरहेको निर्वाचन निर्देशिकालाई शनिबार अन्तिम रूप दिने तयारी रहेको स्रोतले जनाएको छ।
कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र संस्थापन र इतर समूहबीच छुट्टाछुट्टै प्रक्रिया अघि बढेको छ। इतर समूहले पूर्वमहामन्त्री डा. शशांक कोइरालाको संयोजकत्वमा महाधिवेशन तयारी समिति गठन गरी विभिन्न जिल्लामा प्रतिनिधि तथा संयोजक तोकेर तयारी अघि बढाएको जनाएको छ।











प्रतिक्रिया