सुर्खेत ।
लगातारको वर्षाका कारण सुर्खेतका विभिन्न क्षेत्रमा विद्युत् सेवा प्रभावित भएको छ। वर्षाका कारण विद्युत् प्रसारण लाइनका पोल तथा रुख ढलेपछि जिल्लाका अधिकांश क्षेत्रमा विद्युत् सेवा अवरुद्ध भएको हो।
नेपाल विद्युत् प्राधिकरण सुर्खेतका अनुसार सुब्बाकुना–रामघाट ३३ केभी लाइनमा रुख ढलेर अवरुद्ध भएको छ। रुख हटाई मर्मतसम्भारको काम भइरहेको र छिट्टै लाइन सञ्चालनमा ल्याउने तयारी गरिएको प्राधिकरणले जनाएको छ।
लम्की–बाबियाचौर ३३ केभी लाइनमा भने रुख ढलेर ठूलो क्षति पुगेकाले तत्काल विद्युत् सेवा सञ्चालन गर्न कठिन भएको छ। सुर्खेत–बाबियाचौर ३३ केभी लाइनको फल्ट क्लियर गरी सेवा सञ्चालन गर्ने प्रयास भइरहेको छ।
वीरेन्द्रनगर बजार फिडरको ११ केभी लाइनको पोल ढलेपछि आंशिक रूपमा विद्युत् सेवा सञ्चालनमा रहेको छ। पोल मर्मतपछि पूर्ण रूपमा सेवा सञ्चालन हुने प्राधिकरणले जनाएको छ। सीतापाइला फिडरमा देखिएको फल्ट पत्ता लगाएर लाइन सञ्चालनको काम पनि भइरहेको छ।
लगातारको वर्षाका कारण अन्य क्षेत्रमा समेत ११ केभी तथा एलटी लाइनका पोल ढलेका छन्। प्रभावित क्षेत्रमा मर्मतसम्भार गरी क्रमशः विद्युत् सेवा सञ्चालनमा ल्याउने काम भइरहेको प्राधिकरणले जनाएको छ।











प्रतिक्रिया