संकट आएपछि मात्र प्रतिक्रिया दिने शैलीलाई अब पहिले नै रोकथामको संस्कृतितर्फ अघि बढ्नुपर्छ: परराष्ट्रमन्त्री खनाल

'कुनै पनि राष्ट्र सुरक्षित हुँदैन, जबसम्म हरेक राष्ट्र सुरक्षित हुँदैन


काठमाडौँ ।

परराष्ट्रमन्त्री शिशिर खनालले महामारी तथा जनस्वास्थ्य आपत्कालको रोकथाम, तयारी र प्रतिकार्यका लागि बहुपक्षीयता, समानता र ऐक्यबद्धतालाई विश्वव्यापी प्रयासको केन्द्रमा राख्नुपर्ने बताउनुभएको छ। परराष्ट्रमन्त्री खनालले संयुक्त राष्ट्रसंघको ८१औँ महासभाअन्तर्गत भएको ‘प्यान्डेमिक प्रिभेन्सन, प्रिपेयर्डनेस एन्ड रेस्पोन्स’ विषयमा भएको उच्चस्तरीय बैठकलाई सम्बोधन गर्दै उक्त धारणा राख्नुभएको हो। मन्त्री खनालले कोभिड–१९ महामारीले कुनै एक स्थानमा उत्पन्न हुने जनस्वास्थ्य आपत्काल विश्वव्यापी संकटमा परिणत हुन सक्ने तथ्य उजागर गरेको बताउनुभयो। उहाँले भन्नुभयो, ‘कुनै पनि राष्ट्र सुरक्षित हुँदैन, जबसम्म हरेक राष्ट्र सुरक्षित हुँदैन।

‘ मन्त्री खनालले महामारीले स्वास्थ्य सेवासँगै खोप, औषधि, प्रविधि र वित्तीय स्रोतमा रहेको गहिरो असमानता पनि उजागर गरेको बताउनुभयो। ‘महामारी स्वास्थ्य संकट मात्र थिएन—यसले दशकौँमा हासिल भएका विकासका उपलब्धिहरूलाई समेत ध्वस्त बनायो,’ उहाँले भन्नुभयो। नेपालले विश्वव्यापी महामारी तयारीलाई थप सुदृढ बनाउन ‘डब्ल्यूएचओ प्यान्डेमिक एग्रिमेन्ट’ तथा संशोधित अन्तर्राष्ट्रिय स्वास्थ्य नियमावलीलाई महत्त्वपूर्ण कदमका रूपमा स्वागत गरेको उहाँले बताउनुभयो। विश्वव्यापी महामारी रोकथाम तथा तयारीका लागि नेपालले पाँच प्राथमिकता अघि सारेको मन्त्री खनालले उल्लेख गर्नुभयो।

पहिलो विश्वव्यापी स्वास्थ्य सुरक्षाको आधार समानता हुनुपर्ने, दोस्रो महामारी तयारीका लागि दिगो वित्तीय स्रोत सुनिश्चित गर्नुपर्ने, तेस्रो विश्व स्वास्थ्य संगठनलाई केन्द्रमा राख्दै बहुपक्षीय सहकार्य र विकासशील मुलुकको अर्थपूर्ण प्रतिनिधित्व सुदृढ गर्नुपर्ने, चौथो सम्पूर्ण सरकार, सम्पूर्ण समाज र ‘वान हेल्थ’ अवधारणामार्फत समुदायलाई तयारीको केन्द्रमा राख्नुपर्ने, र पाँचौ युवालाई साझेदार, नवप्रवर्तक तथा भावी नेतृत्वका रूपमा समेट्दै महामारी तयारीलाई अन्तरपुस्तीय बनाउनुपर्ने उहाँले बताउनुभयो।

परराष्ट्रमन्त्री खनालले विश्व समुदायले संकट आएपछि मात्र प्रतिक्रिया जनाउने अभ्यासबाट रोकथामको संस्कृतितर्फ अघि बढ्नुपर्नेमा जोड दिनुभयो। ‘संकट आएपछि प्रतिक्रिया दिने हाम्रो शैलीलाई पहिले नै रोकथामको संस्कृतितर्फ अघि बढ्नुपर्छ,’ उहाँले भन्नुभयो। उहाँले उत्थानशील स्वास्थ्य प्रणाली, दक्ष स्वास्थ्यकर्मी, रोग निगरानी, प्रारम्भिक चेतावनी प्रणाली, अनुसन्धान तथा समुदायस्तरीय तयारीमा लगानी बढाउन आह्वान गर्दै कुनै पनि देश र कुनै पनि पुस्ता पछाडि नपर्ने गरी सुरक्षित, समतामूलक र उत्थानशील विश्व निर्माणका लागि सहकार्य गर्न आग्रह गर्नुभयो।