सप्तकोशीमा जलसतह बढ्दै, कोशी ब्यारेजका ४३ ढोका खोलिए


सुनसरी ।

बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण सप्तकोशी नदीमा जलसतह बढेपछि कोशी ब्यारेजका ४३ वटा ढोका खोलिएका छन्। शनिबार बिहान ६ बजेपछिको मापनअनुसार कोशी ब्यारेजमा पानीको बहाव प्रतिसेकेन्ड ३ लाख १६ हजार ७ सय ९५ क्युसेक पुगेको छ। जलसतह बढेसँगै ब्यारेजका ४३ वटा ढोका खोलिएको हो। यसअघि शुक्रबार बिहान १० बजे प्रतिसेकेन्ड १ लाख ९८ हजार २ सय २० क्युसेक पानीको बहाव हुँदा २५ वटा ढोका खोलिएका थिए।

त्यसपछि दिउँसो १ बजे बहाव २ लाख २९ हजार ९ सय ६० क्युसेक पुगेपछि ३० वटा र दिउँसो २ बजे २ लाख ४० हजार ५ सय ५५ क्युसेक पुगेपछि ३१ वटा ढोका खोलिएको थियो। कोशी ब्यारेजमा पानीको बहाव बढेपछि जोखिमको सङ्केतस्वरूप पश्चिमतर्फ रातो बत्ती बालिएको छ। वर्षा जारी रहेकाले सप्तकोशी आसपासका बासिन्दालाई सतर्क रहन र जोखिमपूर्ण क्षेत्रमा नजान आग्रह गरिएको छ।

जिल्ला प्रशासन कार्यालयले नदी तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सुरक्षित स्थानमा रहन तथा कोशी नदीमा माछा मार्ने र दाउरा सङ्कलन नगर्न अनुरोध गरेको छ। कोशी ब्यारेजमा ५२ वटा मूल ढोका र चारवटा नहर गरी जम्मा ५६ वटा ढोका रहेका छन्।