धादिङ ।
लगातारको वर्षापछि आएको बाढीले धादिङको बेनिघाटरोराङ गाउँपालिका–२ मा एक महिलाको ज्यान गएको छ। ताल्ती खोलामा आएको बाढीले बगाउँदा स्थानीय ४१ वर्षीया सुकुमाया चेपाङको मृत्यु भएको हो।
वडा नम्बर २ का अध्यक्ष हेमराज भुजेलका अनुसार शुक्रबार खोला तर्ने क्रममा बाढीले बगाउँदा पार्लाक निवासी चेपाङको मृत्यु भएको हो। सुकुमाया र रमिसा चेपाङसँगै खोला तर्न लागेका थिए। रमिसा खोला पार गर्न सफल भए पनि सुकुमाया खोला तर्ने क्रममा एक्कासि आएको बाढीले बगाएको थियो।
दुई दिनदेखि लगातार भइरहेको वर्षाका कारण धादिङका खोला तथा नदीमा पानीको बहाव बढेको छ। पहाडी क्षेत्रमा निरन्तर वर्षा भइरहेकाले ग्रामीण क्षेत्रमा खोला तर्ने, सडकमा यात्रा गर्ने तथा पहिरोको जोखिम भएका क्षेत्रमा आवतजावत गर्ने सर्वसाधारण उच्च जोखिममा परेका छन्।
यसैबीच, लगातारको वर्षापछि पृथ्वी राजमार्गको धादिङ खण्डमा विभिन्न स्थानमा पहिरो खसेपछि यातायात सञ्चालनमा रोक लगाइएको छ। जिल्ला प्रशासन कार्यालय धादिङले शुक्रबार बिहान सूचना जारी गर्दै अर्को सूचना नभएसम्म पृथ्वी राजमार्गमा सवारीसाधन सञ्चालन नगर्न आग्रह गरेको छ।
राजमार्गको कृष्णभीर, बाँगे, परेवाभीर, शीतलबजार, छहरा र जोगिमारा लगायतका स्थानमा पहिरो तथा ढुंगा खस्ने क्रम जारी छ। वर्षाका कारण सडकका विभिन्न भागमा पहिरो खस्ने र सडक अवरुद्ध हुने अवस्था देखिएपछि यात्रु तथा सवारीसाधनको सुरक्षाका लागि यातायात रोकिएको प्रशासनले जनाएको छ।
प्रशासनले आगामी केही दिनसम्म भारीदेखि अति भारी वर्षा हुन सक्ने मौसम पूर्वानुमान रहेकाले थप विपद्को जोखिम बढ्न सक्ने जनाएको छ। पहिरो र बाढीको जोखिम भएका क्षेत्रमा अनावश्यक यात्रा नगर्न तथा रोक लगाइएको सडकमा जबर्जस्ती सवारीसाधन नचलाउन प्रशासनले आग्रह गरेको छ।
लगातारको वर्षाका कारण धादिङका राजमार्गदेखि ग्रामीण सडकसम्म प्रभावित भएका छन्। सडकमा पहिरो खस्ने र खोलामा बाढी बढ्ने क्रम नरोकिएपछि यात्रु तथा स्थानीयवासीलाई उच्च सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ।











प्रतिक्रिया