काठमाडौं ।
देशभर भइरहेको अविरल वर्षाका कारण बाढी, पहिरो र डुबानको जोखिम बढेको छ । विभिन्न जिल्लामा राष्ट्रिय राजमार्ग तथा सहायक सडक अवरुद्ध भएका छन् भने नदीको बहाव बढ्दा बस्तीहरू डुबानमा परेका छन् । जोखिममा रहेका बस्तीका स्थानीयलाई सुरक्षित स्थानमा सारिएको छ ।
प्राप्त विवरणअनुसार काठमाडौं उपत्यकाबाट बाहिरिने तथा देशका विभिन्न भाग जोड्ने सडकखण्डमा यातायात प्रभावित भएको छ । नारायणगढ–मुग्लिन, पृथ्वी राजमार्ग, बीपी राजमार्ग, सिद्धिचरण लोकमार्ग, चामे–बेँसीसहर सडक र अन्य प्रमुख सडकखण्डमा पहिरो, बाढी तथा सडक कटानका कारण आवागमन अवरुद्ध भएको छ ।
भारी वर्षाको सम्भावनालाई ध्यानमा राख्दै विभिन्न जिल्ला प्रशासन कार्यालयले रातिको समयमा सवारीसाधन तथा पैदल यात्रुको आवागमनमा रोक लगाएका छन्।
प्रमुख सडकखण्ड अवरुद्ध
नारायणगढ–मुग्लिन सडक: निरन्तर पहिरो खस्दा अर्को सूचना जारी नभएसम्म सबै सवारीसाधनको आवागमन बन्द गरिएको छ ।
पृथ्वी राजमार्ग: धादिङका विभिन्न स्थानमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ ।
बीपी राजमार्ग: काभ्रेको रोशी क्षेत्रमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । सिन्धुलीको सुनकोशी गाउँपालिका–१ बालुवामा रोशी खोलाको बाढीले सडकको करिब १० देखि १५ मिटर भाग कटान गरेको छ ।
चामे–बेँसीसहर सडक: मनाङको नासो गाउँपालिका–३ खोत्रो क्षेत्रमा पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।
सिद्धिचरण लोकमार्ग: ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–६ र ७ को सीमास्थित भुँडारे खोलामा आएको बाढीले सडकमा क्षति पुर्याउँदा यातायात बन्द भएको छ ।
घोराही–थवाङ–रुकुम सहिदमार्ग: रोल्पाको माडी गाउँपालिका–२ भालुबाङरे क्षेत्रमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ ।
गुल्मी: चन्द्रकोट गाउँपालिका–७ स्थित सिस्नेभीरमा पहिरो खस्दा रुरु–बामीटक्सार सडकखण्ड अवरुद्ध भएको छ । नारायणी नदीको बाढी बस्तीमा पस्दा ४०० जना सुरक्षित स्थानमा स्थानमा सारिएको छ ।
नवलपरासी पश्चिमको सुस्ता गाउँपालिका–५ थारू टोलमा नारायणी नदीको बहाव बढेर बस्तीमा पानी पसेको छ । नदीको पानी बस्तीमा पस्दा करिब ७० घरधुरीमध्ये ५–६ वटा घरमा पानी पसेर डुबान भएको छ ।
जोखिममा रहेका वृद्धवृद्धा, महिला तथा बालबालिकासहित करिब ४०० स्थानीयलाई सुरक्षित स्थानमा सारिएको छ । उनीहरूलाई बड्काटोलस्थित विपद् व्यवस्थापन भवनमा राखिएको छ । नदीको बहाव अझै बढिरहेको विवरण प्राप्त भएको छ ।
भक्तपुरमा ९८ जनाको उद्धार
भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१ लोकन्थलीस्थित हनुमन्ते खोलामा डुबानको जोखिम बढेपछि सृजनाटोलका कच्ची टहरामा बस्दै आएका १६ परिवारका ९८ जनालाई सुरक्षित स्थानमा सारिएको छ । उनीहरूलाई कौशलटारस्थित जनप्रेमी स्कुलमा राखिएको छ ।
पाल्पामा पहिरोले दुई घर पुरिए, एक महिला बेपत्ता
पाल्पाको रिब्दीकोट गाउँपालिका–६ धुस्मुङ देउरालीमा पहिरोले दुईवटा घर पुरेको छ ।
पहिरोले स्थानीय के सुराम सारु मगर र रामबहादुर उचईका तीनतले कच्ची घर पुरिएका हुन् । रामबहादुर उचईको परिवारका चारै जना सकुशल रहेको प्रहरीले जनाएको छ ।
के सुराम सारुको परिवारका चार जनामध्ये ५९ वर्षीया श्रीमती कृष्णकुमारी सारु घरभित्र पुरिएर बेपत्ता भएको प्रारम्भिक विवरण छ । अविरल वर्षा र पहिरो खस्ने क्रम जारी रहेकाले तत्काल खोज तथा उद्धारमा कठिनाइ भइरहेको छ ।
रसुवा र नुवाकोट जाने सडकमा समस्या
रसुवाको पासाङ ल्हामु राजमार्गको ठूलो भाग त्रिशूली नदीको कटान र बाढीका कारण क्षतिग्रस्त भएको छ । धुन्चे हुँदै स्याफ्रुबेंसी जाने मुख्य सडक अवरुद्ध भएपछि टोखा–छहरे हुँदै विदुर, नुवाकोट दरबार, फलाँटे, चोकदे, लच्याङ, सरमथली, पाच्याङ, भोले, कालिकास्थान, थ्याउबारी, राम्चे, सोले र धुन्चे हुँदै स्याफ्रुबेंसी पुग्ने वैकल्पिक कच्ची सडक प्रयोग गर्न सकिने विवरणमा उल्लेख छ ।
टोखा–छहरे सडकखण्डमा राति १० बजेदेखि बिहान ५ बजेसम्म अत्यावश्यक सेवाबाहेकका सार्वजनिक तथा निजी सवारीसाधनको आवागमन बन्द गरिएको छ।
विभिन्न जिल्लामा रातिको आवागमनमा रोक
भारी वर्षा र सम्भावित बाढीपहिरोको जोखिमलाई ध्यानमा राख्दै विभिन्न जिल्लामा रातिको समयमा सडक आवागमनमा रोक लगाइएको छ ।
सोलुखुम्बु: सिद्धिचरण लोकमार्गलगायत भित्री सडकमा साँझ ६ बजेदेखि बिहान ६ बजेसम्म अत्यावश्यकबाहेक सवारीसाधन र पैदल यात्रुको आवागमन बन्द ।
दाङ: तुलसीपुर–कपुरकोट, भालुवाङ–गनाहा खोला, घोराही–होलेरी, घोराही–मुकुर्टी र तुलसीपुर–कालीमाटी सडकखण्डमा रातिको आवागमनमा रोक ।
रोल्पा: माडीचौरस्थित मदन भण्डारी राजमार्गमा जोखिमका कारण सवारी आवागमन बन्द ।
मनाङ: बेँसीसहर हुँदै खाङसार जाने तथा लमजुङको सीमादेखि खाङसार जाने सडकमा साँझ ६ बजेदेखि बिहान ६ बजेसम्म आवागमन बन्द ।
सिन्धुली: बीपी राजमार्गमा साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म आवागमन बन्द ।
दोलखा: जिल्लाभरका सडकमा साँझ ८ बजेदेखि बिहान ५ बजेसम्म आवागमन बन्द ।
काभ्रे: बीपी र अरनिको राजमार्ग हुँदै सिन्धुपाल्चोकतर्फ जाने सवारीसाधनमा साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म रोक ।
सिन्धुपाल्चोक: पृथ्वी राजमार्गमा राति ८ बजेदेखि बिहान ५ बजेसम्म आवागमन बन्द ।
मकवानपुरमा पृथ्वी राजमार्ग र कान्ति राजमार्ग अवरुद्ध भएपछि त्रिभुवन राजपथ हुँदै सवारीसाधन सञ्चालनका लागि समयतालिका निर्धारण गरिएको छ । ११ मिटरभन्दा लामा यात्रुवाहक सवारीसाधन र निश्चित भारभन्दा बढीका मालवाहक सवारीसाधनलाई उक्त मार्गमा निषेध गरिएको छ ।
जोखिमयुक्त सडकमा यात्रा नगर्न आग्रह
लगातारको वर्षाका कारण सडकमा पहिरो खस्ने, नदीले सडक कटान गर्ने र बस्ती डुबानमा पर्ने जोखिम बढेको छ । विभिन्न स्थानमा उद्धार तथा सुरक्षित स्थानान्तरणको काम भइरहेको छ ।
सम्बन्धित निकायले सडकको अवस्था बुझेर मात्र यात्रा गर्न, अवरुद्ध सडकमा जबर्जस्ती प्रवेश नगर्न र जोखिमयुक्त नदी तथा खोलाको किनारमा नजान सर्वसाधारणलाई आग्रह गरेका छन् ।











प्रतिक्रिया