उपचारका लागि जाँदै गरेका युवक लालबकैया पुलबाट बेपत्ता

0
Shares

रौतहट ।

 उपचारका लागि दाजुसँग वाराको सिमरौनगढ वाट रौतहटको गरुडातर्फ जाँदै गरेका एक युवक रौतहटको मौलापुरस्थित लालबकैया पुलबाट खोलामा हाम फालेर बेपत्ता भएका छन्।

बेपत्ता हुनेमा बाराको सिम्रौनगढ नगरपालिका–११ कटहरिया टोलका २७ वर्षीय सचिन्द्र यादव रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। बिहीबार दिउँसो करिब १ बजेको समयमा मौलापुर नगरपालिका–४ स्थित लालबकैया नदीको पुलमा पुगेपछि उनी गुडिरहेको मोटरसाइकलबाट ओर्लिएर नदीमा हाम फाल्दा वेपता भएको उनको ३५ वर्षिय दाजु सिकिन्द्र यादवले प्रहरी लाई बताएका छन् । 

दाजुका अनुसार भाइको मानसिक अवस्था ठीक नरहेकोले उपचारका लागि  दाजु सिकिन्द्र यादवले बागमती प्रदेश–०२–०६२ प ८५४८ नम्बरको मोटरसाइकलमा पछाडि राखेर लैजादै गर्दा लाल बकैया नदिको पुलमा पुग्दा ओर्लेर हाम फालेका हुन। घटनाको जानकारी पाउनासाथै उद्धार तथा खोजीका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली खटाइएको छ।

 इलाका प्रहरी कार्यालय मौलापुरबाट प्रहरी निरीक्षक भरत केसीको नेतृत्वमा १७ जना प्रहरी र सशस्त्र प्रहरी बल सुरक्षा बेस क्याम्प देवाही गोनाहीबाट गोताखोर टोलीसहित सशस्त्र प्रहरी निरीक्षक दिलबहादुर नेपालीको कमान्डमा ७ जना गरी कुल २४ जना सुरक्षाकर्मीको टोली परिचालन गरिए पनि पानीको वहाव बढेकाले शव भेटिएको छैन।

घटनास्थल इलाका प्रहरी कार्यालय मौलापुरबाट करिब ३ किलोमिटर पूर्वमा पर्दछ। हाल मोटरसाइकल र चालक (दाजु सिकिन्द्र) सुरक्षित रहेको र नदीमा बेपत्ता सचिन्द्रको गोताखोर टोलीसहितले खोजी कार्य जारी राखेको प्रहरीले जनाएको छ।