आज अधिकांश भूभागमा भारी वर्षा


काठमाडौँ ।

देशभर मनसुनी वायुको प्रभावसँगै पश्चिमी वायुको समेत आंशिक प्रभाव रहेकाले आज अधिकांश भूभागमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

दिउँसो कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना छ। लुम्बिनी र गण्डकी प्रदेशका एक–दुई स्थानमा अति भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

यस्तै, कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा हावाहुरीको समेत सम्भावना छ। राति पनि गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा वर्षा हुने तथा बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ।

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा राति अति भारी वर्षा हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।