पृथ्वीराजमार्गसहित प्रमुख सडकमा राति सवारी चलाउन रोक


काठमाडौँ।

भारी वर्षाको सम्भावनालाई मध्यनजर गर्दै नेपाल प्रहरीले विभिन्न राजमार्गमा रातको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाएको छ।

प्रहरी प्रधान कार्यालयले आज सार्वजनिक गरेको सूचनाअनुसार असोज ९ देखि ११ गतेसम्म विभिन्न स्थानमा भारी वर्षा हुनसक्ने पूर्वानुमान रहेकाले सम्भावित जोखिम न्यूनीकरणका लागि रात्रिकालीन आवागमनमा रोक लगाइएको हो।

पृथ्वीराजमार्गमा आज बेलुका ८ बजेदेखि बिहान ५ बजेसम्म सवारीसाधन सञ्चालन पूर्ण रूपमा बन्द गरिनेछ।

यस्तै, सिद्धिचरण लोकमार्गमा आजदेखि असोज १२ गतेसम्म बेलुका ६ बजेदेखि बिहान ६ बजेसम्म अत्यावश्यक सेवाबाहेकका सवारीसाधन तथा पैदलयात्रीको रात्रिकालीन आवागमन रोकिएको प्रहरीले जनाएको छ।

मकवानपुरतर्फ कान्ति राजमार्ग तथा भैँसे–भीमफेदी–देउराली–कुलेखानी हुँदै काठमाडौं आउने सडकमा बेलुका ७ बजेदेखि सवारी आवागमन बन्द गरिनेछ।

त्यसैगरी, बीपी राजमार्गमा बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म र नारायणगढ–मुग्लिन सडकखण्डमा आज बेलुका ८ बजेदेखि भोलि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ।

प्रहरीले मनसुनका कारण हुनसक्ने बाढी, पहिरो तथा सडक अवरोधको जोखिमलाई ध्यानमा राख्दै यात्रुलाई सावधानी अपनाउन आग्रह गरेको छ।