खोटाङ।
देशभर परिरहेको भारी वर्षालाई मध्यनजर गर्दै नेपाली कांग्रेस खोटाङले प्रदेशसभा तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन स्थगित गरेको छ । असोज–८ देखि १२ गतेसम्म भारी वर्षा हुने सम्भावना रहेको मौसमविद् तथा सम्बन्धित निकायबाट सूचना जारी गरेपछि क्षेत्रीय अधिवेशन स्थगित गरेको हो ।
असोज–१० गतेका लागि निर्धारण गरिएको प्रदेशसभा तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको जिल्ला सचिव समीर राईले जजनाउनुभयो। मौसमको अवस्था तथा अनुकूलता हेरी अधिवेशनको नयाँ मिति तय गरिने जनाईएको छ ।
कांग्रेस जिल्ला कार्य समितिले अविरल वर्षाबाट हुनसक्ने घटनालाई मध्यनजर गर्दै जिल्लावासीलाई सुरक्षित रहन, सचेत बन्न र आवश्यक सावधानी अपनाउन पनि आग्रह गरेको छ । दश स्थानीय तहको ७९ वडा रहेको खोटाङमा एक वडा बाहेक सबैमा सर्वसम्मत् नेतृत्व चयन गर्दै वडा अधिवेशन सम्पन्न गरेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलामा क्रियाशील सदस्यता अद्यावधिक छुटेकाले वडा अधिवेशन स्थगित गरिएको उल्लेख छ ।
खोटाङ कांग्रेसमा सभापति गगनकुमार थापा नेतृत्वको संस्थापन पक्ष र निवर्तमान सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको इतर पक्षबीच दुई धार देखिएको छ । कोशी प्रदेश कार्यसमितिका महामन्त्री एवम् प्रदेशसभा सदस्य भूपेन्द्रकुमार राई देउवा पक्षमा र जिल्ला सभापति विष्णुकुमार राई थापा पक्षमा देखिनुभएको छ ।
असोज–७ गतेका लागि तय गरिएको गाउँ÷नगर अधिवेशन पनि सम्पन्न भएको छैन । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र खोटेहाङ गाउँपालिकामा सर्वसम्मत् नेतृत्व चयन हुन नसकेपछि अधिवेशन लम्बिएको हो ।
सम्पन्न भएकोतर्फ हलेसी तुवाचुङ नगरपालिका तथा बराहपोखरी, साकेला, जन्तेढुङ्गा, रावाबेँसी, केपिलासगढी, दिप्रुङ चुइचुम्मा र ऐसेलुखर्क गाउँपालिकामा सर्वसम्मत् नेतृत्व चयन भएको छ । हलेसी तुवाचुङमा चक्रकुमार राई, बराहपोखरी गाउँपालिकामा भुवन श्रेष्ठ, साकेला गाउँपालिकामा विजय गुरुङ, जन्तेढुङ्गा गाउँपालिकामा किरण राई, रावाबेँसी गाउँपालिकामा गेहेन्द्रमान राई, केपिलासगढी गाउँपालिकामा होमकुमार राई, दिप्रुङ चुइचुम्मा गाउँपालिकामा डम्बरबहादुर खड्का र ऐसेलुखर्क गाउँपालिकामा सन्तवीर तामाङ सर्वसम्मत् सभापति चयन हुनुभएको हो ।
संस्थापन पक्षको केन्द्रीय निर्वाचन समितिले खोटाङको निर्वाचन सम्पन्न गर्न अधिवक्ता मुक्तिनाथ आचार्यलाई जिल्ला निर्वाचन अधिकृतको जिम्मेवारी दिएको छ । यस्तै, इतर पक्षले जिल्ला प्रवक्ता रोजन राईलाई संयोजक तोकेको छ ।
संस्थापन पक्षले असोज–३ र ४ गते वडा अधिवेशन, असोज–७ गते गाउँ/नगरपालिका अधिवेशन, असोज–१० गते प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय अधिवेशन र असोज–१६ देखि १९ गतेसम्म काठमाडौँमा केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ ।
यस्तै, इतर पक्षले असोज–१५ गते वडा अधिवेशन, असोज–२० गते पालिका अधिवेशन, असोज–२३ गते प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय अधिवेशन, कातिक–१५ गते जिल्ला अधिवेशन र मङ्सिर–४ गते प्रदेश अधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ ।











प्रतिक्रिया