सिन्धुली ।
सिन्धुलीको फिक्कल गाउँपालिकाले निरन्तर वर्षा र सम्भावित विपद्को जोखिमलाई मध्यनजर गर्दै गाउँपालिका क्षेत्रका सबै विद्यालयमा दुई दिन सार्वजनिक बिदा दिएको छ ।
गाउँपालिकाले आज बिहान सूचना जारी गर्दै विद्यार्थी, शिक्षक तथा कर्मचारीको आवतजावतमा हुन सक्ने जोखिमलाई ध्यानमा राखी आज र भोलि सरकारी तथा संस्थागत सबै विद्यालय बन्द गर्ने निर्णय गरेको जनाएको हो ।

जल तथा मौसम विज्ञान विभागले असोज ९ देखि ११ गतेसम्म देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षा हुन सक्ने पूर्वानुमान गरेको छ । सोही अवस्थालाई मध्यनजर गर्दै शिक्षा तथा खेलकुद मन्त्रालयले स्थानीय तहसँगको समन्वयमा विद्यालय बन्द गर्न तथा परीक्षा स्थगित गर्न निर्देशन दिएको थियो ।
शिक्षा विकास तथा समन्वय इकाई, सिन्धुलीले समेत स्थानीय तहलाई सम्भावित जोखिम न्यूनीकरणका लागि पूर्वतयारी गर्न आग्रह गरेको छ ।
फिक्कल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बरबहादुर रजनमगरले जारी गरेको सूचनामा प्रतिकूल मौसमका कारण हुन सक्ने बाढी, पहिरो, डुबानलगायत जोखिमबाट विद्यार्थी, शिक्षक तथा विद्यालयको भौतिक सम्पत्तिको सुरक्षा गर्न आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ ।











प्रतिक्रिया