बर्षाको प्रभाव बढ्दै गएको भन्दै सुनकोशी गाउँपालिकाका सबै विद्यालयमा दुई दिन विदा

0
Shares


सिन्धुली ।

सिन्धुलीको सुनकोशी गाउँपालिकाले विद्यालयहरुमा दुई दिन सार्वजनिक विदा दिएको छ ।गाउँपालिकाले आज विहान एक सुचना निकालेर गाउँपालिका क्षेत्रमा बर्षाको प्रभाव बढ्दै गएकाले विपद्का घटना हुन नदिन विद्यालयहरुमा सार्वजनिक विदा दिईएको जनाएको हो ।


गाउँपालिका क्षेत्रमा निरन्तर बर्षा भइरहेकाले विद्यार्थी, शिक्षक तथा कर्मचारीहरुको आवतजावतमा हुन सक्ने सम्भावित जोखिमलाई दृष्टिगत गर्दै आज र भोली सरकारी र संस्थागत सबै विद्यालयहरुमा सार्वजनिक विदा दिईएको गाउँपालिकाले जनाएको छ ।
जल तथा मौसम विज्ञान विभागबाट जारी मौसम सम्बन्धी बुलेटिनमा असोज ९ देखि ११ गतेसम्म देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षा हुन सक्ने पूर्वानुमान गरेको छ ।

सोही पूर्वानुमान अनुसार शिक्षा विकास तथा समन्वय इकाई, सिन्धुलीबाट प्राप्त पत्र अनुसार बर्षाबाट हुन सक्ने जोखिम कम गर्न विद्यालयहरुमा बिदा दिईने निर्णय गरिएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृतले जारी गर्नुभएको पत्रमा प्रतिकूल मौसमका कारण हुन सक्ने बाढी, पहिरो, डुबान तथा अन्य सम्भावित जोखिमबाट विद्यार्थी, शिक्षक तथा विद्यालयको भौतिक सम्पत्तिको सुरक्षा गर्न आवश्यक सतर्कता अपनाउन समेत अनुरोध गरिएको छ ।