काठमाडौं ।
भोटेकोशीमा आएको विनाशकारी बाढीपछि मृत्यु हुनेको संख्या १ हजार ४ सय ५३ पुगेको छ । बिहीबार बिहान ८ बजेसम्मको विवरणअनुसार विभिन्न जिल्लामा १ हजार ४ सय ५१ शव फेला परेका छन् भने काठमाडौंमा उपचारका क्रममा थप २ जनाको मृत्यु भएको हो । बाढीपछि सबैभन्दा धेरै शव चितवनमा ३ सय ६८ फेला परेका छन् । त्यसपछि नवलपरासी पश्चिममा २ सय २२, रसुवामा २ सय ३६, नवलपरासी पूर्वमा २ सय ३२, नुवाकोटमा २ सय ४, गोरखामा ७९, धादिङमा ७२ र तनहुँमा ३८ शव फेला परेको प्रहरीले जनाएको छ । ४ हजार ७ सय १८ अझै बेपत्ता बाढीको प्रकोपपछि अझै ४ हजार ७ सय १८ जना बेपत्ता छन् ।
उनीहरूको खोजी कार्य प्रभावित क्षेत्रमा जारी रहेको प्रहरीले जनाएको छ । उद्धार, खोजी तथा राहत वितरण र शव व्यवस्थापनका लागि मात्रै ७ हजार ९ सय ७५ प्रहरी कर्मचारी परिचालन गरिएको छ । बाढी प्रभावित तथा विस्थापितलाई व्यवस्थापन गर्न विभिन्न जिल्लामा स्थापना गरिएका होल्डिङ सेन्टरमा १ हजार २ सय ८० जना राखिएका छन् । १ हजार ३ सय ३३ शव व्यवस्थापन फेला परेका शवको पहिचानका लागि डीएनए परीक्षणसहितका प्रक्रिया अघि बढाइएको छ ।
हालसम्म १ हजार ३ सय ३३ शव व्यवस्थापन गरिएको प्रहरीले जनाएको छ । मृतकको पहिचानका लागि मृतकका १ हजार ३ सय २९ र आफन्तका २ हजार ३५ गरी कुल ३ हजार ३ सय ६४ डीएनए नमुना संकलन गरिएको छ । पहिचान हुन बाँकी १ हजार ४ सय २१ शवको विवरण नेपाल प्रहरीले आफ्नो वेबसाइटमा सार्वजनिक गरेको छ ।
आफन्त तथा परिवारजनबाट प्राप्त विवरण र डीएनए नमुनाका आधारमा पहिचान प्रक्रिया अघि बढिरहेको छ । भोटेकोशी बाढीपछि ठूलो मानवीय क्षति भएको यस घटनामा मृतकको संख्या निरन्तर बढ्दै जाँदा हजारौँ परिवार अझै आफ्ना आफन्तको खोजीमा छन् । एकातिर बेपत्ताको खोजी जारी छ भने अर्कोतर्फ फेला परेका शवको पहिचान र व्यवस्थापन सुरक्षा निकायका लागि अर्को ठूलो चुनौती बनेको छ । प्रहरीका अनुसार खोजी तथा उद्धार अभियानसँगै शव पहिचान, व्यवस्थापन र प्रभावित तथा विस्थापितको संरक्षणलाई प्राथमिकतामा राखेर काम भइरहेको छ ।











प्रतिक्रिया