देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा


काठमाडौँ ।

देशभर मनसुनीसँगै पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बंगालको खाडीमा रहेको न्यून चापीय क्षेत्र थप शक्तिशाली बन्दै पश्चिम–उत्तरपश्चिमतर्फ सर्ने भएकाले वर्षाको सम्भावना बढेको हो।

आज कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा अधिकांश बदली रहनेछ भने कर्णाली र सुदूरपश्चिममा सामान्य बदली रहने महाशाखाले जनाएको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनीका पहाडी तथा हिमाली क्षेत्रमा तथा अन्य केही भूभागमा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ।

कोशी, बागमती र गण्डकीका केही स्थानमा तथा मधेस र लुम्बिनीका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ। कोशी र बागमतीका पहाडी क्षेत्रमा एक–दुई स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।

यस्तै, मधेस तथा कोशी प्रदेशका तराई क्षेत्रमा केही स्थानमा हावाहुरीको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।