काठमाडौँ।
काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा. डा. सुरेशराज शर्माको बुधबार साँझ निधन भएको छ । ८७ वर्षीय शर्माको काठमाडौंको ह्याम्स अस्पतालमा उपचारका क्रममा साँझ ६ः५० बजे निधन भएको उहाका सहयोगी गणेश बडालले जानकारी दिनुभयो ।
लिभरमा समस्या देखिएपछि शर्मालाई आइतबार अस्पताल भर्ना गरिएको थियो । उपचारका क्रममा मंगलबार स्वास्थ्यमा थप समस्या देखिएपछि उहाँलाई आईसीयूमा राखिएको थियो । आईसीयूमै उपचारका क्रममा उहाँको निधन भएको बडालले बताउनुभयो ।
सिन्धुलीको खुर्कोटमा जन्मिनुभएका शर्माको नेपालको प्राविधिक तथा उच्च शिक्षा विकासमा महत्वपूर्ण योगदान रहेको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) स्थापना भएपछि उहाँ पहिलो कार्यकारी निर्देशक बन्नुभएको थियो ।
काठमाडौं विश्वविद्यालय स्थापनाका लागि सक्रिय भूमिका निर्वाह गर्नुभएका शर्मा विश्वविद्यालयका संस्थापक उपकुलपति हुनुहुन्थ्यो । उहाँ सन् १९९१ देखि २०१२ सम्म लगातार विश्वविद्यालयको उपकुलपतिको जिम्मेवारीमा रहनुभएको थियो ।
हाल उहाँ काठमाडौं विश्वविद्यालयको बोर्ड अफ ट्रस्टीमा आबद्ध हुनुहुन्थ्यो । उहाँले नेपाल, भारत र बेलायतका विभिन्न विश्वविद्यालयबाट उच्च शिक्षा हासिल गर्नुभएको थियो ।
शर्माको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गर्न बिहीबार बालकुमारी–ग्वार्कोस्थित काठमाडौं विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्ट (कुसोम)मा बिहान ७ बजेदेखि ९ बजेसम्म श्रद्धाञ्जली सभाको आयोजना गरिने भएको छ ।
उहाँको अन्तिम संस्कार बिहीबार नै हिन्दु परम्पराअनुसार पशुपति आर्यघाटमा गरिने बडालले जानकारी दिनुभयो ।
शर्माकी श्रीमतीको दुई वर्षअघि निधन भएको थियो । उहाँका चार सन्तानमध्ये कान्छी छोरीको पनि केही वर्षअघि नै निधन भएको थियो ।











प्रतिक्रिया