स्वर्गीय क्रोध शिरोमणि कुमालेले निर्माण गर्नुभएको मूर्तिमध्ये पाटन बालकुमारी मन्दिरको भैरवको मूर्ति, धन्वन्तरी बराही मूर्ति, शंखमूलमा रहेको राधारुक्मणि मूर्ति, त्यागलको गणेश र भैरवको मूर्ति, महाबुद्धको वज्र, सतुङ्गलको विष्णुदेवी मन्दिरमा रहेको अष्टमातृका गण, मन्थली रामेछापको नागदेवसहित १३ देवी मन्दिरका मूर्ति प्रसिद्ध छन् ।
काठमाडौँ ।
क्रोधकला शिरोमणि कालु कुमालेको निधन भएको छ । उहाँको ९४ वर्षको उमेरमा हिजो मंगलवार बिहान साढे १२ बजे निधन भएको हो । ९४ वर्षको उमेरमा पनि युवाजस्तै मूर्ति तयार गरिरहने कुमालेको हात्तीवनस्थित निजी निवासमा निधन भएको हो ।
नेपाली बौद्धकलामा आधारित क्रोध मुद्राको मूर्ति बनाउन खप्पिस क्रोध शिरोमणि कुमाले परम्परागत घातु मूर्तिकलाको रचयिताको रूपमा चिनिन्छ । ९४ वर्षको उमेरमा पनि निरन्तर कर्मयोग गरिरहनुभएका शिरोमणि कुमाले अहिलेपछि आफ्ना चेलालाई निरन्तर मूर्तिकलाको ज्ञान बाँडिरहनुभएको थियो ।
चीन, बेलायत, भारतलगायत झण्डै दुई दर्जन बढी मुलुकमा नेपाललाई मूर्तिकलाका माध्यमबाट चिनाउने कुमाले नेपालको आधुनिक मूर्तिकलाको पिताम्हको रुपमा चिनिन्छ । क्रोधकलाकै मूर्ति बनाएर विश्वभर चिनिनुभएका कुमालेको औपचारिक शिक्षा खासै छैन । सानैदेखि बुवाकै बिँडो थामेर मूर्तिकारको परिचय बनाउनुभएका कुमाले बाउबाजेको पालादेखि नै मूर्तिकलालाई पेसागत रूपमा अँगाल्नुभएको छ ।
आफ्नो प्रेरणाको स्रोत बुबालाई मान्ने कुमाले ७० वर्षअघि बुवासँगै वर्षैपिच्छे एक महिना माटाका भाँडाकुँडा बनाई मच्छिन्द्रनाथ, मीननाथ, आदिनाथमा चढाउने गर्नुहुन्थ्यो । त्यसबेला मेलाका लागि माटाका भाँडा अनिवार्य थियो । माटो पाइने जमिन नभएपछि कुमाले परिवारले उक्त पेशा परिवर्तन गर्नुभयो । त्यस बेलादेखि माटाको भाँडाको सट्टा तामा र चाँदी, पित्तललगायतका भाँडा प्रयोग गर्न थालियो ।
उहाँको कामको कदर गर्दै २०७३ साल वैशाख २९ गते सगरमाथा प्रतिष्ठानले क्रोध कलाशिरोमणिको उपाधि प्रदान गरेको थियो । उहाँले गोरखा दक्षिण बाहु, राष्ट्रिय प्रतिभा पुरस्कार, ललितकला प्रज्ञा सम्मान, सुप्रसिद्घ प्रबल जनसेवाश्री पदक, सगरमाथा प्रतिष्ठान सम्मानलगायत दर्जनौँ सम्मान र पुरस्कार पाइसक्नुभएको छ ।
कुमालेले सिर्जना गरेका मूर्ति नेपालबाहेक अन्य देशका मठ–मन्दिर र गुम्बामा पुगेको छ । लण्डनको भिक्टोरिया एन्ड अल्बर्ट संग्रहालयमा समेत उहाँको कीर्ति छ । उहाँ मूर्ति बनाउन कुमाले तिब्बत पुग्नुभएको छ । भुटान हङकङ, थाइल्याण्ड, सिंगापुर, जापान कोरियासम्म उहाँ पुग्नुभएको छ ।
कुमालेले दलाइ लामाका लागि समेत मूर्ति बनाउनुभएको छ । लामा सन् १९७६ मा अजिमा बनाउने व्यक्तिको खोजीमा पाटन आउनुभएको थियो । त्यसबेला लामा कालु भेट्न आउनुभएको थियो, धर्मगुरु लामाकै आग्रहमा अजिमा निर्माण गर्नुभएको थियो ।
कुमालेले निर्माण गर्नुभएको मूर्तिमध्ये पाटन बालकुमारी मन्दिरको भैरवको मूर्ति, धन्वन्तरी बराही मूर्ति, शंखमूलको रहेको राधारुक्मणि मूर्ति, त्यागलको गणेश र भैरवको मूर्ति, महाबुद्धको वज्र, सतुङ्गलको विष्णुदेवी मन्दिरमा रहेको अष्टमातृका गण, मन्थली रामेछापको नागदेवसहित १३ देवी मन्दिरका मूर्ति प्रसिद्ध छन् ।
उहाँले छ्वास्कामुनि अजिमा, वज्रयोगिनी, महिषसम्बर, चक्रसम्बर, कालचक्र, काम्यु महांकाल, सिपिज्याल्म्यो, वज्रपाणि बोधिसत्व, डाकिनी, गरुड, सेतो महांकाल, भैरव, कालभैरवलगायतका क्रोधरुपी मूर्ति बनाइसक्नुभएको छ ।
पछिल्लो समय दुई वर्षअघि पाटन संग्रहालयलाई वाराही जोगिनीको ६ फिट ४ इन्चको मूर्ति दिएर आफू जीवितै रहँदा एउटा इच्छा पूरा गर्नुभएको थियो । ९४ वर्षको वर्षको उत्तरार्धमा पनि क्रोधकलाको मूर्ति बनाएर विश्वप्रसिद्ध हुनुभएका कुमालेले संग्रहालयमा आउने पर्यटकलाई आफ्नो क्रोधकलाको परिचय दिन मूर्ति हस्तान्तरण गर्नुभएको थियो । त्यसबेला मूर्ति हस्तान्तरण गर्दै उहाँले कार्यालय प्रमुख मञ्जु भण्डारीलाई भन्नुभएको थियो– ‘यो मूर्तिलाई राम्ररी राख्नु है ।’
कालु कुमालेले जीवनभर गरेका सिर्जनामध्ये सबैभन्दा सानो धातु मूर्ति हखाः बहालस्थित सूर्यमान वज्राचार्यको घरमा प्रत्येक वर्ष मुखाअष्टमीको व्रत पूजामा राख्न बनाइएको साढे एक इञ्चको तारा र तीन इञ्चको अमोघपास लोकेश्वर हो भने सबैभन्दा ठूलो अर्घाखाँची दरबार परिसरमा स्थापित १७ फिट र २१ फिटको शान्त अर्घा भगवतीको मूर्ति रहेको बताइन्छ ।
उहाँले तयार गरेको धातुको विशाल आकृतिजन्य मूर्तिहरू हेर्दा लाग्दछ, त्यो मूर्तिभित्र मूर्तिकारले प्राण भरिदिएका छन् र ती प्राणसहितको मूर्तिले हामी पापीहरूलाई दण्ड सजाय दिन तयार छ । अनि यस्तो उग्रभावको मूर्ति सिर्जना गर्ने कालु पनि त्यस्तै भयानक उग्रस्वभावका होलान् । तर, वास्तविकतामा उहाँलाई भेट्दा उहाँद्वारा सिर्जित क्रोधकलाको मूर्तिहरुभन्दा ठ्याक्कै उल्टो । उहाँ त सौम्य, शान्त शितल अर्थात् कलियुगीय बुद्धजस्तै । तर उहाँले तयार गरेका सबै मूर्ति क्रोधमा आधारित हुन्थे ।
आज निधन भएका कुमालेको पार्थिव शरीरलाई आज बुधवार अन्त्येष्टि गर्ने कार्यक्रम रहेको कलाकार अजय देशारले बताउनुभयो । उहाँका अनुसार कुमालेको पार्थिव शरीरलाई आज बिहान साढे ९ बजे अन्तिम श्रद्धाञ्जलीका लागि ललितकला प्रतिष्ठानमा राखिने छ । आज दिउँसो बालकुमारीस्थित आर्यघाटमा अन्त्येष्टि गरिनेछ ।











प्रतिक्रिया