नेतृत्व हस्तान्तरणको माग चर्किँदा अध्यक्षको कार्यशैलीमाथि असन्तुष्टि


काठमाडौँ ।

नेकपा एमालेभित्र अध्यक्ष केपी शर्मा ओलीको नेतृत्व र कार्यशैलीलाई लिएर उठेको असन्तुष्टि तत्काल मत्थर हुने संकेत देखिएको छैन । पार्टीको पछिल्लो निर्वाचन परिणाम, संगठन पुनर्गठन र नेतृत्व हस्तान्तरणको विषयलाई लिएर दोस्रो तथा तेस्रो पुस्ताका नेताहरूले प्रश्न उठाएपछि एमालेको आन्तरिक विवाद केन्द्रीय कमिटी बैठकमै खुलेर सतहमा आएको छ ।

अध्यक्ष ओली भने तत्काल नेतृत्व छाड्ने पक्षमा देखिनुभएको छैन । आफू निर्वाचित नेतृत्व भएकाले कसैले माग्दैमा पद नछाड्ने उहाँको अडान रहँदै आएको छ । यही अडानका कारण नेतृत्व पुनर्गठनको विषयमा अध्यक्ष र महासचिव शंकर पोखरेलसहितका नेताबीच मतभेद चर्किएको छ ।

केन्द्रीय कमिटी बैठकमा भने ओलीको नेतृत्वसँगै उहाँको कार्यशैलीमाथि समेत प्रश्न उठेका छन् । आलोचनात्मक धारणा राख्न खोज्ने नेताहरूलाई बोल्न रोक्ने, बोल्ने विषय लिखित रूपमा देखाउन निर्देशन दिने तथा बैठक सञ्चालनको शैलीलाई लिएर केही नेताले असन्तुष्टि जनाएका छन् । महासचिव पोखरेललाई समेत बैठकमा बोल्न नदिइएको विषयले नेतृत्वबीचको दूरी थप प्रस्ट पारेको नेताहरूको भनाइ छ ।
उपमहासचिव योगेश भट्टराईले स्थानीय र प्रदेश निर्वाचनलाई समेत ध्यानमा राख्दै अन्तरिम नेतृत्व चयन गरेर अघि बढ्नुपर्ने धारणा बैठकमा राख्नुभएको छ ।

महासचिव पोखरेलले यसअघि नै नेतृत्व हस्तान्तरण र पुस्तान्तरणलाई एमालेको महत्वपूर्ण एजेन्डा बनिसकेको उल्लेख गर्दै त्यसका लागि सहज प्रणाली आवश्यक रहेको धारणा राख्नुभएको थियो । यता, केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्षको राजनीतिक प्रतिवेदनमा आत्मालोचनाको विषय आए पनि त्यसको कार्यान्वयन हुनेमा आशंका गर्ने ठाउँ रहेको बताउनुभएको छ । उहाँले कार्यदलको प्रतिवेदन तथा पार्टी पुनर्गठनको प्रयासलाई व्यवहारमै कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभएको छ ।केन्द्रीय सदस्य गोकुल बाँस्कोटाले पनि अध्यक्षको प्रतिवेदनमा समेटिएको आत्मालोचनालाई व्यवहारमा कार्यान्वयन गर्नुपर्ने धारणा राख्नुभएको छ । यसले पार्टीभित्र नेतृत्वको विषयसँगै आत्मालोचना, जिम्मेवारी र त्यसको कार्यान्वयनसमेत बहसको केन्द्रमा आएको देखाएको छ ।

तर ओलीनिकट नेताहरूले नेतृत्व परिवर्तनको बहसलाई स्वीकार गरेका छैनन् । सचिव महेश बस्नेतले ओलीलाई नेतृत्वबाट हटाउने र पार्टी जिम्मेवारीबाट विमुख गराउने प्रयास असफल भएको दाबी गर्नुभएको छ । उहाँले ओलीलाई भौतिक रूपमै समाप्त पार्ने खालका षड्यन्त्रसमेत भएको आरोप लगाउँदै त्यस्ता प्रयास असफल भइसकेको बताउनुभएको छ ।

बस्नेतले नेतृत्व परिवर्तनको बहस बाहिरको हल्लामा आधारित रहेको दाबी गर्दै ओलीको नेतृत्व निरन्तर हुनुपर्ने पक्षमा अधिकांश केन्द्रीय सदस्य रहेको दाबी गर्नुभएको छ । यसअघि पनि ओली पक्षले नेतृत्व परिवर्तनको मागलाई योजनाबद्ध प्रयासका रूपमा व्याख्या गर्दै आएको छ ।
एमालेभित्रको विवाद अहिले केवल अध्यक्षको निरन्तरताको विषयमा सीमित छैन ।

पुरानो नेतृत्व कायम राखेर पार्टी पुनर्निर्माण गर्ने कि नेतृत्व हस्तान्तरणमार्फत पुस्तान्तरण अघि बढाउने भन्ने मूल प्रश्नमा नेताहरू विभाजित देखिएका छन् । कार्यदलबाट आएका सुझाव, महासचिव पोखरेलको प्रतिवेदन र अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदनबीच देखिएको मतभेदले विवादलाई थप जटिल बनाएको छ ।

केन्द्रीय कमिटी बैठकमा ओलीको राजनीतिक प्रतिवेदनमाथि सदस्यहरूले धारणा राखिरहेका छन् । प्रत्येक सदस्यलाई सीमित समय दिएर बहस अघि बढाइएको छ । बैठकमा पार्टी पुनर्गठन, नीति, नेतृत्व, निर्वाचनको समीक्षा, संगठन निर्माणलगायत विषयमा छलफल भइरहेको छ ।
यसबीच अध्यक्ष ओलीले भने पार्टीभित्र देखिएको संकटलाई सामना गर्दै एमालेमा नयाँ ऊर्जा र स्पष्ट दिशासहित अघि बढ्ने प्रतिबद्धता जनाउनुभएको छ । उहाँले पराजयबाट शिक्षा लिएर पार्टीलाई पुनर्जागरणतर्फ लैजाने धारणा राख्नुभएको छ । तर बैठकमा उठिरहेका प्रश्नहरूले एमालेभित्रको बहस तत्काल टुंगिनेभन्दा पनि नेतृत्व, पुस्तान्तरण र पार्टी पुनर्गठनको प्रश्न अझै केही समय निर्णायक आन्तरिक मुद्दा बन्ने संकेत गरेका छन् ।