काठमाडौैँ ।
यो वर्षको इन्द्रजात्रा आज बुधवारबाट सुरु हुँदै छ । यो वर्षको जात्रा दिउँसै रथ तान्न सुरु गरेर राती समयमै सक्ने योजना व्यवस्थापन समितिको छ । भोटेकोशी बाढी पहिरोको कारणले देश अझै पनि गम्भीर अवस्थामा रहेकाले शान्तपूर्ण समयमै सक्नेगरी तयारी भइरहेको इन्द्रजात्रा व्यवस्थापन समितिअन्तर्गत बाह्य व्यवस्थापनका संयोजक गणपतिलाल श्रेष्ठले भन्नुभयो । उहाँले दिउँसो ३ बजेबाट रथ तानेर ढिलोमा ८ बजेसम्म सक्ने योजना बनाएको बताउनुभयो ।
इन्द्रजात्रा मूल समारोहको दिन राष्ट्रपति रामचन्द्र पौडेललगायत विशिष्ट अतिथि दिउँसो ३ बजे उपस्थित भएर साढे ३ सम्म रथजात्रा सुरु गर्ने योजना छ । यो वर्षको इन्द्रजात्रामा सरकार प्रमुख प्रधानमन्त्री बालेन्द्र शाहको उपस्थिति नहुने भएको छ । उहाँ संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिका जानुभएकाले जात्राको दिन प्रधानमन्त्रीको उपस्थिति हुनेछैन । भदौ ९ देखि १२ सम्म काठमाडौँमा पनि धेरै वर्षा हुने सम्भावना भएकाले संयम भएर रथजात्रा गर्ने बाह्य संयोजक श्रेष्ठले भन्नुभयो ।
इन्द्रजात्राको अघिल्लो दिन हिजो मंगलवार तलेजुका मूल पुजारी उद्धव कर्माचार्यले जीवितदेवी कुमारी, श्रीगणेश र श्रीभैरवलाई निमन्त्रणा पठाउनुभएको छ । आज तीन जीवित देवीदेवतालाई तलेजु मूल चोकमा निमन्त्रणा पूजा हुनेछ ।
‘तलेजुको मूल चोकमा राखेर तान्त्रिक विधिले नित्य पूजा गरेपछि मात्र जात्रा आरम्भ हुन्छ’, मूल पुजारी कर्माचार्यले भन्नुभयो– ‘हिजो निमन्त्रणा पठायाँै, आज बुधवार विशेष पूजा गरिन्छ । त्यसपछि मात्र जात्रा सुरु हुन्छ ।’
‘नित्य पूजा नगरेसम्म जात्रा हँुदैन । निमन्त्रणा स्वीकार्नैपर्छ । तान्त्रिक विधिबाट पूजा भएपछि मात्र जात्रा सुरु गर्न निर्देशन गरिन्छ । पूजालगत्तै यँसी ठड्याइन्छ, अनि उपाकु हुन्छ’ –मूल पुजारी कर्माचार्यले भन्नुभयो । तीन जीवित देवतालाई पूजा गरेसँगै पहिलो दिन यँसी ठड्याउने गरिन्छ ।
‘वसन्तपुर दरबारक्षेत्र र आसपास कोर सहरमा इन्द्रजात्राको तयारी अन्तिम चरणमा पुगेको छ । रथ निर्माण, सरसफाइ तथा आवश्यक तयारी पूरा भएको छ । आज उपाकु गरेपछि जात्रा सुरु हुन्छ’ –जात्रा व्यवस्थापन समितिका संयोजक गौतम शाक्यले बताउनुभयो । उहाँका अनुसार यो वर्ष कुमारी घरको छाना जीर्णोद्धार भएको छ । दरबारक्षेत्रका काष्ठमण्डप, कुमारी घर, शिव–पार्वती मन्दिरलगायत सम्पदामा रङरोगन गर्ने तथा रातो ध्वजा फेर्ने काम भइरहेको छ । श्रीभैरव र श्रीगणेशको रथ मर्मत भइसकेको छ ।
संयोजक शाक्यका अनुसार जात्राको सबै तयारी भइसकेको छ । उहाँले विगतमा जस्तो कुनै समस्या नभएको बताउनुभयो । उहाँले भन्नुभयो– ‘काठमाडौँ महानगरपालिका र गुठी संस्थानले पूर्ण सहयोग गरेको छ । हाम्रो काम अब जात्रा सञ्चालन गर्न मात्र बाँकी छ ।’ यो वर्ष विशेष कारणले समयमै रथ तान्ने काम गर्ने योजना रहेको उहाँको भनाइ थियो ।
यो वर्ष ३ वर्षे कुमारी आर्यतारा शाक्य नयाँ कुमारी चयन भएपछि उहाँको पहिलो जात्रा हो । २०७९ साल पुस २६ गते जन्मनुभएकी आर्यतारा गत वर्ष मात्र नयाँ कुमारीको आसनमा बस्नुभएको हो । करिब साढे २ वर्षको उमेरमा जीवित देवी कुमारी छनोट हुनुभएको हो ।
उहाँलाई गतवर्ष दशैंको अष्टमीको दिन मध्यान्ह १२ बजेर ५ मिनेटमा हनुमानढोकाको मूलचोकमा लगेपछि १२ बजेर १६ मिनेटसम्म सिंहासनमा प्रतिस्थापन गरिएको थियो । मूल पुजारी कर्माचार्यले एक वर्षअघि सिंहासनमा बस्नुभएकी कुमारीले कुनै नयाँ विधि गर्न नपर्ने बताउनुभयो । ‘विगतमा जस्तो थियो यो वर्ष पनि त्यस्तै हुन्छ । नयाँ कुमारीलाई कुनै नयाँ कुरा सिकाउनुपर्दैन । केही विशेष विषयवस्तु हुँदैन पनि’ –कर्माचार्यको भनाइ छ ।
‘इन्द्रजात्रालाई सभ्य र भव्य तरिकाले सञ्चालन गर्न इन्द्रजात्रा व्यवस्थापन समितिसँग ३१ गुठी खलः आबद्ध छन् । उनीहरूसँग हामीले पटक–पटक बैठक बसिसकेका छौँ । शान्ति सुरक्षाका लागि नेपाल प्रहरी निकायसँग छलफल गरिसकेका छौँ, शान्तिसुरक्षाको विषयमा कुनै समस्या छैन’ –बाह्य व्यवस्थापन समितिका अध्यक्ष श्रेष्ठको भनाइ छ । ‘भक्तपुरमा मात्र बजाइने र त्यहीँबाट ल्याइने मुआली बाजालाई यो वर्ष काठमाडौँबाटै व्यवस्था गरेका छौँ । बाजा बजाउने कलाकारलाई तालिम दिएका छौँ’ –श्रेष्ठको भनाइ थियो ।
‘स्काउट परिचालन गर्ने भएका छौँ । स्थानीय टोलका सयौँ स्वयंसेवक खटिनेछन् । नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन हुनेछ’, अध्यक्ष श्रेष्ठले भन्नुभयो– ‘इन्द्रजात्रा राष्ट्रिय पर्व भएकाले जात्रा हेर्ने अन्तर्राष्ट्रिय पर्यटक धेरै हुनुहुन्छ । उहाँहरूका लागि व्यवस्थापन गरेका छौँ ।’
यो वर्ष पहिलोपटक नेपाली सेना र नेपाल प्रहरीले स्वास्थ्य सेवासहित एम्बुलेन्सको व्यवस्था गरेको छ । कामपाले पहिलोपटक सबै सुरक्षाकर्मी, स्वयंसेवकलगायत सबैलाई खाजाको व्यवस्था गर्ने भएको छ । सादा पोसाकका प्रहरी परिचालन हुनेछ । कसैले घुसपैठ गरेर जात्रामा होहल्ला गरे तत्काल नियन्त्रणमा लिने व्यवस्था मिलाइएको छ । देश र विदेशबाट आएका पाहुनालाई निर्धक्क जात्रा अवलोकन गर्न आग्रह गरेको संयोजक श्रेष्ठको भनाइ थियो ।
विशेष गरेर नेवार समुदायमा विशेष महत्व रहेको इन्द्रजात्रा काठमाडौँ उपत्यकासहित धुलिखेल र दोलखालगायतका स्थानमा परम्परागत रूपमा मनाइन्छ । इन्द्रध्वजको पूजा गरी शक्ति प्राप्त गर्ने र त्यसको प्रदर्शन गर्ने पर्वका रूपमा इन्द्रजात्राको विशेष महत्व छ ।
इन्द्रध्वजासहितको लिङ्गो ठड्याएपछि सुरु हुने जात्रामा विभिन्न परम्परागत नाच प्रस्तुत गरिन्छ । भक्कु, महाकाली, लाखे, दशअवतार तथा देवराज इन्द्रको वाहन ऐरावत हात्तीको प्रतीक मानिने पुलुकिसी नाच प्रदर्शन गरिन्छ ।
पञ्चाङ्ग निर्णायक समितिका अनुसार यो वर्ष इन्द्रध्वजोत्थानको साइत ७ असोजको बिहान ७ः४७ बजे रहेको छ । यसैगरी, इन्द्रजात्राको मुख्य दिन ९ असोजमा तल्लो टोलमा यात्रा गराइन्छ । १० असोज (शनिवार) मा माथिल्लो टोल यात्रा गराइनेछ ।
१३ असोजमा महिलाले मात्र रथ तानेर नानिचा यात्रा गरिन्छ । यसै दिन राति ९ः२५ बजे इन्द्रध्वजाको यँसी ढाल्ने साइत रहेको समितिले जनाएको छ । लिङ्गो ढालेपछि राती नै राष्ट्राध्यक्षले कुमारी, गणेश र भैरवको दर्शन गरी प्रसादग्रहण गरेपछि १३ दिन लामो इन्द्रजात्रा समापन हुन्छ ।











प्रतिक्रिया