काठमाडौँ ।
प्रधानमन्त्रीमा नियुक्त भएपछि पहिलो विदेश भ्रमणका रूपमा प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन मंगलवार साँझ अमेरिकाको न्यूयोर्क प्रस्थान गर्नुभएको छ । प्रधानमन्त्री शाह नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै महासभामा सहभागी हुन अमेरिका प्रस्थान गर्नुभएको हो ।
प्रधानमन्त्री शाहले यही असोज ८ गते अर्थात् सेप्टेम्बर २४ मा संयुक्त राष्ट्रसंघको महासभाको सत्रलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । उहाँले सम्बोधनका क्रममा नेपालले भोगिरहेको जलवायु संकट, भोटेकोशी बाढीबाट भएको मानवीय तथा भौतिक क्षति र जलवायु परिवर्तनका कारण नेपाल जस्ता न्यून उत्सर्जन गर्ने मुलुकले व्यहोर्नुपरेको असमान क्षतिका विषयलाई अन्तर्राष्ट्रिय समुदायसमक्ष उठाउने तयारी गर्नुभएको छ ।
भोटेकोशी बाढीपछि प्रधानमन्त्री शाहले आफ्नो अमेरिका भ्रमणलाई औपचारिक कूटनीतिक भेटघाटमा मात्र सीमित नगरी विपत्तिमा परेको नेपालको आवाज विश्व मञ्चमा पु¥याउने अवसरका रूपमा उपयोग गर्न खोज्नुभएको छ । गत भदौ १० मा आएको विनाशकारी बाढीपछि प्रधानमन्त्री शाहले सुरुमा महासभामा सहभागी नहुने संकेत गर्नुभएको थियो । तर विपत्तिपछि अन्तर्राष्ट्रिय समुदायको ध्यान नेपालतर्फ तान्नुपर्ने आवश्यकता देखाउँदै अन्ततः न्यूयोर्क जाने निर्णय गर्नुभएको हो ।
नेपालले भोगेको विपत्तिलाई जलवायु न्यायसँग जोडेर प्रधानमन्त्री शाहले विश्व समुदायको ध्यानाकर्षण गराउने तयारी गर्नुभएको छ । हिमाली मुलुक नेपालले जलवायु परिवर्तनमा न्यून योगदान गरे पनि त्यसको असर भने गम्भीर रूपमा व्यहोर्नुपरेको विषय उहाँको सम्बोधनको प्रमुख एजेन्डा बन्नेछ । भोटेकोशी बाढीका कारण ठूलो मानवीय क्षतिसँगै जलविद्युत्, सडक, पुल, सञ्चारलगायत भौतिक पूर्वाधारमा पुगेको क्षतिको विषय पनि अन्तर्राष्ट्रिय समुदायसमक्ष उठाइने तयारी छ ।
प्रधानमन्त्री शाहले महासभामा नेपालले नगरेको अपराधको सजाय भोगिरहेको सन्देशसहित जलवायु परिवर्तनको असर र त्यसबाट सिर्जित विपत्तिको क्षतिपूर्ति तथा अन्तर्राष्ट्रिय सहयोगको विषय उठाउने तयारी गर्नुभएको छ । नेपालले जलवायु संकटका कारण व्यहोर्नुपरेको क्षतिको उचित सम्बोधन, पुनर्निर्माणमा सहयोग तथा जोखिममा रहेका हिमाली मुलुकका लागि अन्तर्राष्ट्रिय सहयोगको आवश्यकता उहाँको सम्बोधनमा आउने अपेक्षा गरिएको छ ।
प्रधानमन्त्री शाहको यो भ्रमण प्रधानमन्त्री बनेपछिको पहिलो विदेश भ्रमणसमेत हो । उहाँ मंगलवार कतार एयरवेजमार्फत न्यूयोर्कका लागि प्रस्थान गर्नुभएको हो । यसअघि प्रधानमन्त्रीको विदेश भ्रमणमा विमानस्थलमा हुने औपचारिक बिदाइ, गार्ड अफ अनर, रातो कार्पेट तथा मन्त्री, कूटनीतिक नियोगका प्रमुख र उच्च सरकारी अधिकारीको उपस्थिति जस्ता परम्परा हुने गरे पनि शाहको भ्रमणमा त्यस्तो औपचारिक बिदाइ कार्यक्रम राखिएको थिएन । तर उहाँलाई बिमानस्थलसम्म पु¥याउन लावालस्कर भने देखिएको थियो ।
तर औपचारिक बिदाइको परम्परा तोडिए पनि प्रधानमन्त्रीको अमेरिका भ्रमण भने उच्चस्तरीय प्रतिनिधिमण्डलसहित हुँदैछ । प्रधानमन्त्रीको टोलीमा प्रमुख सल्लाहकार कुमार व्यञ्जनकार, प्रमुख स्वकीय सचिव सुवास शर्मा, निजी सचिव प्रदीप परियार र निजी फोटोग्राफर विनय शाक्यलगायत रहेका छन् ।
परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री नेतृत्वको नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री शिशिर खनाल, परराष्ट्र सचिव अमृतबहादुर राई तथा अन्य वरिष्ठ सरकारी अधिकारीसमेत सहभागी हुनेछन् ।
प्रधानमन्त्री शाहसँगै परराष्ट्रमन्त्री शिशिर खनाल पनि महासभामा सहभागी हुँदै हुनुहुन्छ । परराष्ट्रमन्त्री खनाल यसअघि नै न्यूयोर्क पुगिसक्नुभएको छ । उहाँले महासभासँग सम्बन्धित उच्चस्तरीय बैठक, साइड इभेन्ट तथा मन्त्रीस्तरीय छलफलमा सहभागी हुनुका साथै विभिन्न मुलुकका समकक्षीसँग द्विपक्षीय भेटवार्ता सुरु गरिसक्नुभएको छ ।
परराष्ट्रमन्त्री खनालले नेपालका द्विपक्षीय हित, आर्थिक तथा कूटनीतिक सम्बन्धका साथै भोटेकोशी बाढीबाट नेपालले व्यहोरेको क्षतिका विषयमा समेत अन्तर्राष्ट्रिय समुदायसँग छलफल गर्ने कार्यक्रम छ । यसले प्रधानमन्त्री शाहको महासभा सम्बोधनका लागि आवश्यक कूटनीतिक वातावरण तयार गर्न पनि सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
न्यूयोर्कमा रहँदा प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्ने कार्यक्रमसमेत तय भएको छ । भेटमा नेपालको वर्तमान अवस्था, भोटेकोशी बाढी, जलवायु परिवर्तनको असर, जलवायु न्याय तथा नेपाललाई आवश्यक अन्तर्राष्ट्रिय सहयोगका विषयमा छलफल हुने अपेक्षा गरिएको छ । तर उहाँले अन्य कुनै पनि विशिष्ट व्यक्तिसँग भेट नगर्ने हुनुभएको छ ।
संयुक्त राष्ट्रसंघको यस वर्षको महासभामा विश्वव्यापी अविश्वास, परिवर्तन व्यवस्थापन, कृत्रिम बुद्धिमत्ता, जलवायु परिवर्तन, विभिन्न क्षेत्रका द्वन्द्व र अन्तर्राष्ट्रिय सहयोगलगायत विषय प्रमुख बहसमा छन् । महासभाको यसपटकको उच्चस्तरीय छलफलमा विश्वका राष्ट्र तथा सरकार प्रमुख सहभागी भइरहेका छन् ।
प्रधानमन्त्री शाहले सेप्टेम्बर २४ मा महासभालाई सम्बोधन गर्नुहुनेछ । उहाँको सम्बोधनका लागि १४ मिनेटको समय निर्धारण गरिएको नेपाली पक्षले जनाएको छ । सीमित समयमा नेपालको वर्तमान अवस्था, भोटेकोशी विपत्तिको क्षति, जलवायु न्याय र हिमाली मुलुकका सरोकारलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्नुपर्ने चुनौती उहाँसामु छ ।
प्रधानमन्त्री शाह सेप्टेम्बर २६ अर्थात् असोज १० गते नेपाल फर्कने कार्यक्रम रहेको छ । परराष्ट्र मन्त्रालयले प्रधानमन्त्रीको भ्रमणलाई संयुक्त राष्ट्रसंघको उच्चस्तरीय सप्ताहमा नेपालको सहभागिता र अन्तर्राष्ट्रिय समुदायसँग नेपालको सरोकार प्रस्तुत गर्ने अवसरका रूपमा अघि बढाएको छ ।











प्रतिक्रिया