धादिङ ।
भोटेकोशी नदीको बाढीले धादिङका बस्तीको सम्पर्क टुटाएको तीन सातापछि सातवटा झोलुङ्गे पुलको मर्मत तथा पुनर्निर्माण सुरु भएको छ । पुल भत्किएपछि नदी वारपार गर्न नसक्दा किसानको उत्पादन खेतमै कुहिने, विद्यार्थी विद्यालय जान नपाउने र बिरामीलाई उपचारका लागि लैजानसमेत कठिन भएको छ ।
सस्पेन्सन ब्रिज डिभिजनले बाढीबाट क्षतिग्रस्त पुललाई प्राथमिकतामा राखेर निर्माण अघि बढाएको हो । महेशदोभान मास्टर, चिरौंदी खोला, शीतलबजार–क्युरेनिटार, कालिकास्थान, मालिका–मधुवाटार दोभान, केउरेनी–गहते र फोसेटार झोलुङ्गे पुलको पुनर्निर्माण तथा मर्मत सुरु भएको छ ।
गल्छी–१ र ६ जोड्ने महेशदोभान मास्टर तथा सिद्धलेक–६ र गजुरी–१ जोड्ने कालिकास्थान पुल असोज १७ गतेभित्र सम्पन्न गर्ने गरी सम्झौता भएको छ । चिरौंदी खोला, शीतलबजार–क्युरेनिटार, केउरेनी–गहते र फोसेटार पुलको काम असोज २६ गतेभित्र सक्ने लक्ष्य राखिएको छ । मालिका–मधुवाटार दोभान पुल पनि असोज १७ गतेभित्र सम्पन्न गर्ने गरी सम्झौता भएको छ ।
पुल भत्किएपछि नदी किनारका बासिन्दाको दैनिकी नै रोकिएको छ । खेतमा उत्पादन गरेको तरकारी तथा अन्य कृषि उपज बजारसम्म पु¥याउन नसक्दा कुहिन थालेको किसानको गुनासो छ । बाढीले घरखेतमा क्षति पु¥याएपछि बाँकी रहेको उत्पादनसमेत बिक्री गर्न नपाउँदा किसान दोहोरो मारमा परेका छन् ।
केउरेनी क्षेत्रका विद्यार्थीले पुल नहुँदा विद्यालय जान नसकेको बताएका छन् । नदी तर्न जोखिम भएपछि कक्षा छुटिरहेको उनीहरूको भनाइ छ । बिरामीलाई स्वास्थ्य संस्था लैजान, खाद्यान्न तथा औषधि ल्याउन र दैनिक कामका लागि वारपार गर्नसमेत स्थानीयले सास्ती खेप्दै आएका छन् । त्रिशूली र भोटेकोशीका कारण छुट्टिएका बस्तीका नागरिकका लागि पुल जीवनसँग जोडिएको संरचना हो ।
भोटेकोशी बाढीले धादिङमा २५ वटा झोलुङ्गे पुल बगाएर वा क्षतिग्रस्त बनाएको थियो । सात पुलको काम सुरु भए पनि बाँकी क्षतिग्रस्त पुलको पुनर्निर्माण कहिले हुन्छ भन्ने विषयमा स्थानीयको चासो छ । पुल अभावका कारण नागरिकको आवतजावत, शिक्षा, स्वास्थ्य र कृषि उत्पादनमा परेको असर तत्काल सम्बोधन गर्नुपर्ने उनीहरूको माग छ ।
निर्माण सुरु भएपछि स्थानीयमा केही आशा पलाएको छ । तर तोकिएको समयभित्र गुणस्तरीय काम सम्पन्न नभए बाढीले भत्काएको संरचनासँगै नागरिकको दैनिकी पनि लामो समयसम्म भत्किरहनेछ । सस्पेन्सन ब्रिज डिभिजनले निर्माणस्थलको रेखदेख, संरक्षण र निगरानीमा स्थानीयलाई सहयोग गर्न आग्रह गरेको छ ।











प्रतिक्रिया