ललितपुर ।
पठन संस्कृति कार्यान्वयन गर्न स्वयं प्रतिवद्धता आवश्यक हुने सरोकारवालाले बताएका छन् । जेवि एजुकेशन फाउन्डेशनको आयोजना तथा तथ्यपाटी डटकमको संयोजनमा ललितपुर महानगरपालिका वडा नं– २२ मा आयोजित संवाद कार्यक्रममा सरोकारवालाहरुले सो धारणा राखेका छन् । संवादमा पठन संस्कृतिलाई व्यक्तिगत रुपमै कार्यान्वयन गर्न सरोकारवालाहरुले जोड दिएका छन् ।

कार्यक्रममा बोल्दै ललितपुर महानगरपालिका वडा नं २२ का अध्यक्ष सागर तुलाधरले पठन संस्कृतिलाई व्यक्तिगत जीवनमा लागु गर्नु सबैभन्दा महत्वपूर्ण रहेको बताए । उनले जीवनमा पठनका विषयबस्तु महत्वपूर्ण भएकोले यसलाई वडाले पुस्तकालयदेखी कार्यालयमा रिडिङ कर्नरमा निर्माणमा आफू लागि पर्ने जानकारी दिए । आदर्श शौल स्कुलमा गतबर्ष मात्रै करिब १ लाख मुल्यको पुस्तक थपेको र वडाकै लागि पचासौ हजार रकम बराबरका पुस्तक रहेकोले कार्यालयमा रिडिङ कर्नर तुरुन्तै निर्माण गर्न सकिने तुलाधरको भनाइ थियो ।
कार्यकारी जिम्मेवारीमा रहेको जनप्रतिनिधिले नीति नियमका विषयमा अध्ययन बढी गर्नुपर्ने भएकोले पछिल्लो समयमा किनेको पुस्तक पनि पढ्न छुटेको बताउदै अध्यक्ष तुलाधरले आजैबाट पुस्तक पठनमा पुनः सक्रिय हुने प्रतिवद्धता व्यक्त गरे

कार्यक्रममा प्रस्तुतीकरण दिदै जेवि एजुकेशनका प्रमुख तथा पठन संस्कृति अभियन्ता शिक्षाकर्मी दीपकराज जोशीले पठन संस्कृति किन र कसरी भन्ने विषयमा दुइवटा आयाममा अन्तरसंवाद गरे । उनले पुस्तक पठनले एकै पटक पाँचवटै ज्ञानेन्द्रियले कार्य गर्न सक्ने भएकोले पठनले बुढेसकालसम्म अल्जाइमर्स रोग नलाग्ने बताए । हरेक दिन कम्तिमा आधा घण्टा पुस्तक पठनका लागि छुट्याउन सकेमा यसले स्क्रीन टाइमलाई घटाउन सहयोग गर्ने उनको भनाई थियो ।
ललितपुर महानगर प्याब्सनका अध्यक्ष अर्जुन महर्जनले आफ्नो विद्यालयमा पठन संस्कृतिको अभ्यास गराउन विद्यार्थी र शिक्षक दुवैलाई हरेक दिन निश्चित समय पुस्तक पठनमा समय राखिएको जानकारी दिए । महर्जनले पठन संस्कृतिलाई संस्कृति भन्दा संस्कार रुपमा लान सकियो भने यसले निरन्तरता पाउन अझ सहज बनाउने धारणा राखे ।
साहित्यिक लेखक मञ्च नेपाल बुंगमतीका अध्यक्ष रामेश्वर श्रेष्ठले विदेशमा जस्तै नेपालमा पनि फुर्सदको समाजशास्त्रको विषयमा अध्ययन गर्नुपर्ने बताए । उनले सामान्य फुर्सद हुनेवित्तिकै अनावश्यक रुपमा सामाजिक सञ्जालमा द्वन्द्व फैलाउन नेपालीहरु उद्धत देखिएकोले यसलाई घटाउन पनि पठन संस्कृति आवश्यक रहेको श्रेष्ठको भनाइ थियो ।

दिब्यज्योति स्कुलका प्रिन्सिपल चन्द्रमान मालीले विद्यालयस्तरमा पठन संस्कृतिलाई जोडिएपनि सामाजिक रुपमा जोड्न बाँकी रहेको भनाइ व्यक्त गरे । उनले भने– वडाको पहलमा हुने पुस्तकालय वा रिडिङ कर्नर निर्माण गर्न म ईच्छुक रहेको जानकारी दिन चाहन्छु ।
नेपाल समाचारपत्रका सह–सम्पादक ईश्वरराज ढकालले ग्याजेटले दैनिकीलाई बिगारेको र यसले विर्सने रोगसमेत लाग्ने गरेकोले पठनलाई पुनः जीवनमा ल्याउनु आवश्यक रहेको भाव व्यक्त गरे ।
संवाद कार्यक्रममा आदर्श शौल माविका डिल्लिमान श्रेष्ठ, बाखेल कुमारी आधारभूत विद्यालयका प्रधानाध्यापक गणेशकुमार बुढा, ललितपुर महानगरपालिका वडा नं। २२ का सदस्य रत्नभक्त महर्जनलगायतले आफ्ना भनाई राखेका थिए ।
संवाद कार्यक्रममा सहभागी वडाभित्रका ३५ जना सहभागीहरुलाई जेवि एजुकेशनका तर्फबाट विचार विज्ञान नामक पुस्तक हस्तान्तरण गरिएको थियो । तथ्य मिडियाका अध्यक्ष विधान रिजालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सहजीकरण तथ्यपाटी डटकमका सम्पादक बालमुकुन्द आचार्यले गरेका थिए ।











प्रतिक्रिया