फागुनमै स्थानीय चुनाव गर्न आयोग तयार

कार्यकाल सकिनुअघि नै निर्वाचन गराउने विषयमा छलफल बाँकी

0
Shares

–माघ मसान्तसम्म मतदाता नामावली टुंग्याउने लक्ष्य

–अन्तरजिल्ला मतदान परीक्षणदेखि ई–भोटिङसम्मको तयारी

काठमाडौँ।

निर्वाचन आयोगले आगामी फागुनमै स्थानीय तहको निर्वाचन सम्पन्न गर्ने हिसाबले आन्तरिक गृहकार्य अघि बढाएको छ ।
स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल सकिन अझै आठ महिना बाँकी छ । आयोगले वर्तमान जनप्रतिनिधिको कार्यकाल समाप्त हुनुभन्दा दुई महिनाअघि नै निर्वाचन सम्पन्न गर्ने कानुनी व्यवस्थालाई आधार बनाएर निर्वाचनको तयारी अघि बढाएको हो । स्थानीय तह निर्वाचन ऐन, २०७३ को परिच्छेद–२ मा गाउँसभा वा नगरसभाका सदस्यको निर्वाचन सम्बन्धित सभाको कार्यकाल समाप्त हुनुभन्दा दुई महिनाअघि सम्पन्न गर्नुपर्ने व्यवस्था छ ।

आगामी फागुनको अन्तिम सातासम्म स्थानीय तहको निर्वाचन सम्पन्न गर्ने गरी हिसाबमा आयोगले तयारी गरिरहेको आयोगका आयुक्त राजीव सुब्बाले बताउनुभयो । प्रवक्ता सुब्बाका अनुसार आयोगले आफ्नो तर्फबाट आवश्यक तयारी अघि बढाइसकेको र अब निर्वाचनका लागि सरकारसँग समन्वय गरेर यसबारे अझ थप स्पष्ट पार्ने आयोगको तयारी रहेको छ ।

संविधानको धारा २२५ मा गाउँसभा र नगरसभाको कार्यकाल निर्वाचन भएको मितिले पाँच वर्ष हुने तथा कार्यकाल समाप्त भएको छ महिनाभित्र अर्को निर्वाचन सम्पन्न गर्नुपर्ने व्यवस्था गरेको छ । यसअघि २०७९ वैशाख ३० गते स्थानीय तहको निर्वाचन भएको थियो । आयुक्त सुब्बाका अनुसार अहिले मतदाता नामावली अद्यावधिक गर्ने काम भइरहेको छ । निर्वाचनको मिति, सुरक्षा, कर्मचारी व्यवस्थापन तथा अन्य प्राविधिक तयारीका विषयमा भने सरकारसँग आवश्यक समन्वय गरेपछि औपचारिक तयारी अघि बढ्ने आयोगले जनाएको छ ।

‘निर्वाचनको बारेमा अहिले सरकारसँग छलफल भएको छैन । छलफलपछि निर्वाचनको कहिलेसम्म गराउने भन्ने टुंगो लाग्ने छ । अहिले मोटामोटी हिसाबले फागुणलाई लक्ष्य बनाएर आन्तरिक गृहकार्य गरिरहेका छौँ’ –उहाँले भन्नुभयो । आयोगका अनुसार अहिले मतदाता अद्यावधिक गर्ने काम भइरहेको छ । फागुनमै निर्वाचन हुने अवस्थामा माघ मसान्तसम्ममा मतदाताको अन्तिम नामावली प्रकाशित ह्ुनेछ ।

२०८४ वैशाखमा स्थानीय तहका जनप्रतिनिधिको पदावधि समाप्त हुँदै छ । त्यसैगरी सोही वर्ष मंसिर ४ गते प्रदेश सभाको पदावधि समाप्त हुने छ । यसले गर्दा यी दुवै तहको निर्वाचन एकैपटक गर्दा राज्यको करिब ४ अर्ब रुपैयाँभन्दा बढी खर्च बचत हुने आयोगको भनाइ छ । यस विषयमा आयोगले विभिन्न राजनीतिक दलहरूसँग छलफल गरेको थियो । निर्वाचन व्यवस्थापन विधेयक पारित गरी ऐनका रूपमा ल्याउनुपर्ने छ । स्थानीय तह र प्रदेश सभाको निर्वाचन एउटै मितिमा तय गरेर निर्वाचन गर्ने गरी व्यवस्था भएको ऐन आएमा निर्वाचन गराउन सकिने आयोगका पदाधिकारीहरूको भनाइ रहेको छ ।

यसपटक आयोगले स्थानीय तहसँगै प्रदेशसभा निर्वाचनमा पनि अन्तरजिल्ला मतदानको व्यवस्था परीक्षण गर्ने तयारी गरेको छ । आयुक्त सुब्बाका अनुसार अन्तरजिल्ला मतदानका लागि अध्ययन भइरहेको छ र केही जिल्ला तथा प्रदेशसभा निर्वाचन क्षेत्रबाट यसको सुरु गर्ने विषयमा आयोगले तयारी गरिरहेको छ ।
आयोगले निर्वाचन प्रणालीलाई क्रमशः डिजिटल बनाउने योजनासमेत अघि सारेको छ । अन्तर जिल्ला मतदानमा प्रविधिको प्रयोगसँगै भविष्यमा ई–भोटिङ प्रणालीतर्फ जाने तयारी भइरहेको सुब्बाले बताउनुभयो । विदेशमा रहेका नेपालीलाई मतदानको अवसर दिने विषयमा समेत दूतावास तथा नियोगमार्फत अनलाइन वा ई–भोटिङको सम्भावनाबारे आयोगले अध्ययन गरिरहेको छ ।