‘संविधान कमजोर पार्ने होइन, अझ बलियो बनाऔँ’ : झार्की


काठमाडौं ।

नेकपा एमालेकी नेतृ रामकुमारी झार्कीले संविधान दिवसका अवसरमा संविधानको सम्मान गर्दै लोकतन्त्र, नागरिक स्वतन्त्रता र अधिकारको रक्षा गर्नुपर्ने बताएकी छन्।

असोज ३ गते संविधान दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै झार्कीले नेपालको संविधान लामो संघर्ष, जनआन्दोलन, शान्ति प्रक्रिया र संविधानसभामार्फत प्राप्त उपलब्धि भएको उल्लेख गरेकी छन्।उनले संविधान पूर्ण नहुने भन्दै समय र आवश्यकताअनुसार लोकतान्त्रिक विधिबाट संशोधन र सुधार गर्न सकिने बताएकी छन्।

तर संविधानलाई नै अस्वीकार वा कमजोर बनाउने प्रयासले नागरिक अधिकार, शक्ति सन्तुलन र जवाफदेहितामा असर पार्न सक्ने उनको भनाइ छ।

झार्कीले संविधानका कमजोरीबारे बहस गर्दै आवश्यक सुधार र संशोधन गर्न आह्वान गरेकी छन्। साथै लोकतन्त्र, गणतन्त्र, नागरिक स्वतन्त्रता, समानता र सामाजिक न्यायका उपलब्धिलाई थप बलियो बनाउनुपर्नेमा जोड दिएकी छन्।

उनले संविधानका लागि जीवन अर्पण गर्ने ज्ञात–अज्ञात सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै भावी पुस्तालाई सुरक्षित र लोकतान्त्रिक नेपाल हस्तान्तरण गर्ने संकल्प गर्न आग्रह गरेकी छन्।