नागरिकलाई निराशामा राखेर राज्य सफल हुँदैन : राष्ट्रपति पौडेल


काठमाडौं ।

राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकलाई निराशामा राखेर कुनै पनि राज्य र व्यवस्था सफल हुन नसक्ने बताएका छन् ।

संविधान दिवसका अवसरमा राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले राजनीतिक परिवर्तनलाई नागरिकको जीवनसँग जोड्न व्यवहारमै सुशासन र उत्कृष्ट सेवा प्रवाह आवश्यक रहेको बताए ।

उनले नागरिकमा आशा कायम राख्न राज्यले प्रभावकारी सेवा प्रवाह गर्नुपर्नेमा जोड दिए । शासकीय संरचनामा आउने परिवर्तनले मात्रै युगका अपेक्षा पूरा नहुने उनको भनाइ थियो ।

राष्ट्रपति पौडेलले संविधानलाई भाषणमा सीमित नराखी नागरिकको दैनिक जीवनमा कार्यान्वयन गर्ने संकल्प गर्न पनि आग्रह गरे । संघर्ष र बलिदानबाट प्राप्त संविधानको वास्तविक अर्थ नागरिकले न्याय, सम्मान र सुरक्षित भविष्यका लागि राज्यसँग याचना गर्न नपर्ने अवस्था सिर्जना भएपछि मात्रै अनुभूति हुने उनले बताए ।