काठमाडौं ।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता वर्षमान पुनले नेकपा एमालेसँग तत्काल पार्टी एकता हुने र पद बाँडफाँट गरिने भन्ने हल्ला निराधार रहेको बताएका छन्।
शनिबार काभ्रेको बनेपामा आयोजित कार्यक्रममा बोल्दै पुनले भविष्यमा एमालेसँग एकता हुन सक्ने विषयमा नेतृत्व तहमा प्रारम्भिक छलफल भइरहेको जानकारी दिए। एमालेभित्रको आन्तरिक बहस टुंगिनुअघि तत्काल पार्टी एकता सम्भव नरहेको उनको भनाइ छ।
उनले संविधान र लोकतन्त्रको रक्षा तथा वैदेशिक हस्तक्षेपको प्रतिवादका लागि वाम शक्तिहरूबीच सहकार्य जारी रहने बताए। आवश्यक परे नेपाली कांग्रेससँग समेत सहकार्य गर्न सकिने उनको भनाइ थियो।
पुनले सरकारको कार्यशैली, राजदूत नियुक्ति प्रक्रिया र विपद् व्यवस्थापनप्रति पनि आलोचना गरे। नयाँ भनिएका दलहरूले पुराना राजनीतिक शक्तिका कमजोरी सच्याउनुको सट्टा ‘वासिङ मेसिन’को भूमिका खेलेको आरोप लगाउँदै उनले नेताहरूले आफ्ना कमजोरी स्वीकार गरी गुमेको जनविश्वास पुनः हासिल गर्नुपर्नेमा जोड दिए।











प्रतिक्रिया