स्वास्थ्य सेवा विभागका तत्कालीन प्रशासक सापकोटाविरुद्ध भ्रष्टाचार मुद्दा


काठमाडौँ।

स्वास्थ्य सेवा विभागका तत्कालीन वरिष्ठ स्वास्थ्य प्रशासक डा. अर्जुन प्रसाद सापकोटाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार डा. सापकोटा र उनकी पत्नीलाई समेत प्रतिवादी बनाउँदै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

सापकोटाले स्वास्थ्य मन्त्रालय अन्तर्गतका विभिन्न कार्यालयमा कार्यरत रहँदा गैरकानुनी रुपमा आयआर्जन गरेको उजुरी अख्तियारमा परेको थियो । अनुसन्धानको क्रममा उनको सेवा अवधिमा वैध आम्दानीभन्दा दुई करोड तीन लाख ९४ हजार ६१५ रूपैयाँ बढी फेला परेको अख्तियारको दाबी छ । अख्तियारले बढी देखिएको सम्पत्ति बराबर बिगो कायम गर्दै मुद्दा दायर गरेको हो ।

सापकोटाको सुरू नियुक्ति २०५३ साउन २५ गतेदेखि २०८० वैशाख ३० गतेसम्मको अवधिको आय–व्यायमा अनुसन्धान गरेको थियो । जुन अवधिमा तीन करोड ३५ लाख ७७ हजार २६० रुपैयाँ वैध आम्दानी देखिएको छ। तर यही अवधिमा उनको खर्च पाँच करोड ३९ लाख ७१ हजार ८७५ रुपैयाँ देखिएको अख्तियारको दाबी छ ।

बढी देखिएको खर्चको आम्दानी उनले पुष्टि गर्न नसकेपछि भ्रष्टाचारको आरोपमा मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ । उनीहरु दुवैको नाममा रहेको सम्पत्ति समेत जफत गर्न अख्तियारले माग गरेको छ ।