काठमाडौं।
प्रधानमन्त्री वालेन्द्र शाहले जेन्जी उमेर समूहका सांसदहरूलाई नवीन सोचका साथ आफ्नै पुस्ताका लागि स्वदेशमै रोजगारी तथा अवसर सिर्जना गर्न आग्रह गरेका छन्।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार जेन्जी उमेर समूहका सांसदहरूसँग भएको अन्तरक्रियामा प्रधानमन्त्री शाहले युवापुस्ताका आधारभूत समस्या समाधानसँगै उनीहरूलाई आत्मनिर्भर बनाउनेतर्फ समेत विशेष ध्यान दिन आग्रह गरेका हुन्।
प्रधानमन्त्री शाहले युवाले आफू उदाहरण बनेर नयाँ सोच र सिर्जनशीलताका साथ काम गर्नुपर्ने बताए। त्यसका लागि स्थलगत अध्ययन तथा अनुसन्धानलाई प्राथमिकता दिन, सूचना–प्रविधिको अधिकतम प्रयोग गर्न र समस्या समाधानमुखी व्यवहार अपनाउन उनले सांसदहरूलाई सुझाव दिए।
उनले बदलिँदो समयअनुसार पुराना तथा अव्यावहारिक सोच त्यागेर नयाँ ढंगबाट अघि बढ्नुपर्नेमा जोड दिए। युवापुस्तालाई स्वदेशमै अवसर सिर्जना गर्न सरकारसँगै नयाँ पुस्ताका जनप्रतिनिधिहरूले समेत सक्रिय भूमिका निर्वाह गर्नुपर्ने उनको भनाइ थियो।
प्रधानमन्त्री शाहले राजनीतिलाई मात्र पेसा नबनाई आम्दानीको छुट्टै व्यावसायिक आधार तयार गर्न पनि आग्रह गरे। दीर्घकालीन रूपमा आत्मनिर्भर बन्न सके राजनीतिमा संलग्न युवाहरू अरूका लागि समेत प्रेरणाको स्रोत बन्न सक्ने उनले बताए।
अन्तरक्रियामा सहभागी जेन्जी उमेर समूहका सांसदहरूले प्रधानमन्त्री शाहको आग्रहलाई अभिभावकीय मार्गदर्शनका रूपमा लिएको बताएका छन्। उनीहरूले आफ्नै पुस्तालाई आत्मनिर्भर बनाउने तथा स्वदेशमै रोजगारी र अवसर सिर्जना गर्ने अभियानमा सक्रिय भएर लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
प्रधानमन्त्रीसँगको उक्त अन्तरक्रियालाई नयाँ पुस्ताका जनप्रतिनिधि र सरकारबीच युवाका समस्या, रोजगारी तथा आत्मनिर्भरताका विषयमा छलफल गर्ने अवसरका रूपमा लिइएको छ।











प्रतिक्रिया