राखेप तालिम तथा प्रशिक्षण विभागको पहिलो महिला निर्देशक बनिन् संगिना वैद्य


काठमाडौँ ।

 ओलम्पियन तेक्वान्दो खेलाडी संगिना वैद्य राष्ट्रिय खेलकुद परिषद् (राखेप) को तालिम तथा प्रशिक्षण विभागको निर्देशकमा नियुक्त भएकी छिन् । यो संगै संगिना राखेपको करिब ६ दशक लामोको इतिहासमा पहिलो महिला निर्देशक बनेकी छिन् ।

संगिना छनोट चरण पार गरेर ओलम्पिक पुग्ने पहिलो नेपाली खेलाडी हुन् । उनी छनोट चरण पार गरेर सन् २००४ को ग्रिस ओलम्पिकमा सहभागी भएकी थिइन् । त्यसअघि, कुनै पनि नेपाली खेलाडीले छनोट चरण पार गरेर ओलम्पिक खेलेका थिएनन् ।

यसैगरी, एसियाली स्तरको खेलमा नेपालबाट स्वर्ण पदक जित्ने पनि उनी पहिलो नेपाली खेलाडी हुन् । उनले सन् १९९६ मा एसियाली तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण पदक जितेकी थिइन् ।

सन् १९९९ काठमाडौँ र सन् २००४ पाकिस्तानमा गरी दक्षिण एसियाली खेलकुद (साग)मा दुईवटा स्वर्ण पदक जितेकी संगिना राखेपमा वरिष्ठ तेक्वान्दो प्रशिक्षकका रुपमा कार्यरत छिन् ।