सरकारविरुद्ध आन्दोलनका लागि मोर्चा बनाउँदैछौं : प्रचण्ड


काठमाडौं।

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारविरुद्ध विभिन्न राजनीतिक दल, नागरिक समाज तथा बुद्धिजीवीलाई समेटेर वृहत् संयुक्त मोर्चा निर्माण गरी सडक आन्दोलनमा जाने तयारी भइरहेको बताएका छन्।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रचण्डले सरकारले सुकुम्बासी, ट्रेड युनियन, मजदुर, किसान तथा बुद्धिजीवीमाथि दमन र ज्यादती गरेको आरोप लगाए। उनले त्यसको विरोधमा संयुक्त रूपमा आन्दोलन अघि बढाउनुपर्ने आवश्यकता रहेको बताए।

‘अहिलेको नयाँ भनिएको सरकारले सुकुम्बासी, ट्रेड युनियन, मजदुर, किसान, बुद्धिजीवीहरूमाथि जुन दमन शुरू गरेको छ, जुन ज्यादती र अत्याचार गरेको छ, त्यसविरुद्ध वृहत् संयुक्त मोर्चा बनाएर सडकबाट आन्दोलनमा जानुपर्ने आवश्यकता छ । हामी त्यसको तयारीमा छौं,’ प्रचण्डले भने।

उनका अनुसार प्रस्तावित आन्दोलनका विषयमा विभिन्न राजनीतिक दल, बुद्धिजीवी र नागरिक समाजका प्रतिनिधिसँग निरन्तर छलफल भइरहेको छ। छलफल सकारात्मक दिशातर्फ अघि बढिरहेको उनको दाबी छ।

प्रचण्डले चाडपर्व सकिएपछि नयाँ आन्दोलनको वातावरण निर्माण गर्नुपर्ने बताएका छन्। नयाँ भनिएको सरकारप्रति जनतामा रहेको भ्रम क्रमशः हट्दै गएको दाबी गर्दै उनले स्थापित राजनीतिक दल र नेताप्रति जनताको आकर्षण पुनः बढिरहेको जिकिर गरे।

‘चाडपर्वपछि एउटा नयाँ आन्दोलन सिर्जना गर्नुछ,’ उनले भने, ‘नयाँ भनिएको सरकारले जनतामा विस्तारै दिग्भ्रम भएको थियो, त्यो चिरिँदैछ । नयाँ ढंगले फेरि स्थापित पार्टी र नेताहरूप्रति जनताको आकर्षण दिनप्रतिदिन बढ्दैछ।’

नेकपाप्रति समेत जनताको आकर्षण बढिरहेको प्रचण्डको दाबी थियो। जनतामाझ पुगेर वास्तविक अवस्था बुझाउन सके पार्टीको नेतृत्वमा आन्दोलनमा सहभागी हुने परिस्थिति बन्ने उनले बताए।

‘विस्तारै जनतामा नेपाली कम्युनिस्ट पार्टीमा आकर्षण बढ्दैछ। जनतामा गएर साँचो कुरा बुझाए जनताले आन्दोलनमा हाम्रो नेतृत्वमा आउने अवस्था छ,’ उनले भने।