काठमाडौं ।
नेपाल एलपी ग्यास उद्योग सङ्घले उपभोक्तालाई एलपी ग्यास पुरानै मूल्यमा बिक्री तथा वितरण गर्न उद्योगीहरूलाई आग्रह गरेको छ। सङ्घले आज विज्ञप्ति जारी गर्दै नेपाल आयल निगमले निर्धारण गरेको प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ मै ग्यास बिक्री गर्न उद्योगीहरूलाई अनुरोध गरेको हो।
भोटेकोशी बाढीका कारण पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीर खण्ड अवरुद्ध भएपछि काठमाडौं उपत्यकामा ग्यास आपूर्ति गर्न उद्योगीहरूले वैकल्पिक सडकमार्फत ग्यास ढुवानी गर्दै आएका थिए। उपत्यकाबाहिर रहेका उद्योगबाट ग्यास भरेर ल्याउनुपर्ने अवस्था आएपछि ढुवानी खर्चबापत प्रतिसिलिन्डर १०५ रुपैयाँ ३८ पैसा थप गरी उपभोक्ताबाट रकम लिँदै आएका थिए।
राजमार्ग अवरुद्ध भएपछि गत भदौ १४ गतेदेखि काठमाडौं उपत्यकामा ग्यास बिक्री गर्ने उद्योगहरूले मकवानपुर, पर्सा, बारा, चितवन, नवलपरासी र धनुषामा रहेका उद्योगबाट सिलिन्डर रिफिल गरी वैकल्पिक मार्ग हुँदै काठमाडौं ल्याएर बिक्री गर्दै आएका थिए।
पृथ्वी राजमार्गको अवरोधका कारण थपिएको ढुवानी खर्चका नाममा लिँदै आएको अतिरिक्त रकम अब नलिई निगमले तोकेको पुरानै मूल्यमा ग्यास बिक्री गर्न सङ्घले उद्योगीहरूलाई आग्रह गरेको हो।











प्रतिक्रिया