काठमाडौँ।
नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्वसभापति शेरबहादुर देउवालाई महाधिवेशन उद्घाटन गरिदिन आग्रह गरेका छन्।
ललितपुरको सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा बिहीबार केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै सपभाति थापाले देउवालाई पूर्वसभापतिका रुपमा महाधिवेशन उद्घाटन गरिदिन आग्रह गरेका हुन्। ‘मेरो आदरणीय नेता पूर्व सभापति शेरबहादुर देउवालाई आग्रह गर्न चाहन्छु, कतिपय साथीहरूले भन्नुभएको छ। अधिवेशनको दिनमा पार्टी पूर्वसभापतिले अधिवेशनको उद्घाटन गरिदिने कुरा हाम्रा निम्ति सम्मानको विषय हुन्छ,’ थापाले भने।
उनले अब सभापति बन्ने बाटोमा नलाग्न देउवालाई सचेत गराए। कांग्रेसले विधानले पनि त्यो बाटो बन्द गरेको उनको भनाइ थियो।
थापाले भने, ‘पार्टीको विधानले पनि त्यही भन्छ। उहाँ अब पार्टीको सभापति बन्ने होइन।’
असोज १६ गते खुलामञ्चमा महाधिवेशन उद्घाटन गरिने उनले बताए। त्यसअघि असोज ३ र ४ गते वडा अधिवेशन हुने उनले बताए।
त्यसबीचमा स्थानीय तहको अधिवेशन गरिने बताउँदै जिल्ला र प्रदेश अधिवेशन पछि गरिने बताए। त्यसका लागि थप छलफल गरिने उनको भनाइ थियो।
‘पार्टीका साथीहरूसँग थप छलफल गर्ने वातावरण बन्छ भन्ने पनि हो,’ थापाले भने, ‘सकेसम्म पार्टीको एकताका लागि हामी उभिनुपर्छ।’
केन्द्रीय कार्यसमिति बैठकमा देउवा पक्षका केही नेता पनि सहभागी भएका छन्। कांग्रेसको वडा अधिवेशन असोज ३ गते प्रारम्भ हुँदै छ।











प्रतिक्रिया