पदीय जिम्मेवारीको दुरुपयोग गर्दै घुसको बार्गेनिङ

0
Shares

काठमाडौं ।

विद्यालय व्यवस्थापन समितिका सदस्यदेखि वन अधिकृत र गाउ“पालिकाका उपाध्यक्षसम्मले आफ्नो पद तथा जिम्मेवारीको दुरुपयोग गरी रकम मागेको आरोपमा अख्तियारले पछिल्लो पटक छुट्टाछुट्टै मुद्दा दायर गरेको छ।

अख्तियारको अनुसन्धानले सेवा सुविधा दिलाउनेदेखि काठको लगत समर्थन र लिलाम सहमति सिफारिस गर्ने पदाधिकारी र कर्मचारी नै सेवाग्राहीसँग घुसको बार्गेनिङमा संलग्न हुने गरेको तथ्य फेला परेको छ।

अख्तियारले कैलालीको गौरीगंगा नगरपालिका–४ स्थित कालिका माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समिति सदस्य देवबहादुर बम र उदयपुरको डिभिजन वन कार्यालयका योजना शाखा प्रमुख वन अधिकृत (सातौँ) भुवन पौडेलविरुद्ध मंगलवार छुट्टाछुट्टै अभियोगपत्र दायर गरेको जनाएको छ । विद्यालय व्यवस्थापन समिति सदस्य बमले आफू पदमा रहेर जिम्मेवारी बहन गर्ने क्रममा सेवाग्राहीलाई थप सेवा सुविधा तथा पारिश्रमिक उपलब्ध गराउने निर्णय गरिदिने भन्दै घुस मागेको पाइएको अख्तियारका प्रवक्ता सुरेश न्यौपानले बताउनुभयो।

घुस मागेको सूचना पाएपछि अख्तियारको कार्यालय, कञ्चनपुरबाट खटिएको टोलीले बमलाई सेवाग्राहीबाट २ लाख रुपैया“ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो। अनुसन्धानबाट बमले बदनियतपूर्ण तवरले सेवा सुविधा उपलब्ध गराउने निर्णय गरिदिने भन्दै सेवाग्राहीसँग रकमको बार्गेनिङ गरेको र आफ्नो निमित्त २ लाख रुपैया“ घुस लिएको पुष्टि भएको आयोगको दाबी छ। अख्तियारले बमलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर गरेको ठहर गर्दै बिगो २ लाख रुपैयाँ कायम गरी कैदबमोजिम जरिवाना सजायको मागदाबी गरेको छ।

त्यस्तै, उदयपुरको त्रियुगा नगरपालिका–१० स्थित डिभिजन वन कार्यालयका योजना शाखा प्रमुख पौडेलले सेवाग्राहीसँग घुस मागेको आयोगले जनाएको छ।सामुदायिक वन उपभोक्ता समितिको काठको लगत समर्थन तथा लिलाम सहमति सिफारिस पत्र दिने प्रयोजनमा पौडेलले घुस मागेको अख्तियारले जनाएको छ।

पौडेलले आफ्नो पदीय जिम्मेवारीअनुसार गर्नुपर्ने कामका लागि सेवाग्राहीसँग १५ हजार रुपैया“ घुस मागेको अख्तियारको दावी छ। पौडेलले यसअघिछ पनि काम गरिदिने भन्दै दुःख–हैरानी दिने, नियतवश आलटाल गर्ने र रकम माग गर्दै सेवाग्राहीलाई दुःख दि“दै आएको बताइएको छ। त्यही सूचनाका आधारमा अख्तियारको कार्यालय, इटहरीबाट टोली खटिएको खटिएको टोलीले उनलाई १५ हजार रुपैया“ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो।अनुसन्धानपछि पौडेलले काठको लगत समर्थन तथा लिलाम सहमति सिफारिस गरिदिएबापत सेवाग्राहीसँग घुस लिएको पुष्टि भएको अख्तियारको दाबी रहेको छ।

अख्तियारले १५ हजार रुपैया“ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को (क) बमोजिम कैद तथा सोही दफाबमोजिम जरिवाना सजायको मागदाबी गरेको छ । प्रवक्ता न्यौपानेका अनुसार दुवै घटनामा पद र जिम्मेवारीको दुरुपयोग गरी सेवाग्राहीबाट गैरकानुनी लाभ लिएको आरोपमा मुद्दा दायर गरिएको हो।

सोलुखुम्बुको सोताङ गाउ“पालिकाकी उपाध्यक्ष अन्जु नाछिरिङ राईले ढाका सिलाइ–बुनाइ तालिममा प्रशिक्षकको काम दिलाए बापत ४५ हजार रुपैया“ घुस लिएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा आरोपपत्र दायर गरेको छ।
आर्थिक वर्ष २०८०÷८१ मा सञ्चालित ९० कार्य दिनको तालिममा प्रशिक्षकको काम दिलाएबापत उपाध्यक्ष राईले सो रकम माग गरी छोरा सुनील नाछिरिङ राईको बैंक खातामा जम्मा गर्न लगाएको अख्तियारले जनाएको छ।

अख्तियारका अनुसार उपाध्यक्ष राईले आफ्नो पदीय जिम्मेवारीका क्रममा तालिममा प्रशिक्षकको काम दिलाउने तथा सहजीकरण गरेबापत छोरा सुनीलसँगको मिलेमतोमा घुस लिएको अनुसन्धानबाट खुलेको छ।उपाध्यक्ष राई विरुद्ध ४५ हजार रुपैया“ बिगो कायम गरी कैद तथा बिगोबराबर जरिवानाको मागदाबी गरिएको छ।
त्यस्तै, सुनील नाछिरिङ राईले आफ्नी आमासँगको मिलेमतोमा सेवाग्राहीबाट ४५ हजार रुपैया“ घुस लिई उपाध्यक्षका निमित्त उपलब्ध गराएको आरोपमा उनी विरुद्ध पनि ४५ हजार रुपैया“ बिगो, कैद तथा बिगोबराबर जरिवानाको मागदाबी गरिएको आयोगले जनाएको छ।