विवादका बीच कांग्रेसको १५औँ महाधिवेशन असोज १६ मा गर्ने तयारी

७ हजार प्रतिनिधि सहभागी हुने


काठमाडौँ ।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनको तयारी तीव्र पारिए पनि पार्टीभित्रको विवाद भने अझै समाधान हुन सकेको छैन । संस्थापन पक्षले यही असोज १६ देखि १९ गतेसम्म काठमाडौँमा १५औँ महाधिवेशन गर्ने गरी निर्वाचन प्रक्रिया अघि बढाइरहेको छ भने संस्थापनइतर समूहले उक्त कार्यतालिका अस्वीकार गर्दै छुट्टै प्रक्रिया अघि बढाउने तयारी गरेको छ ।

संस्थापन पक्षले आयोजना गर्न लागेको महाधिवेशनमा करिब ७ हजार प्रतिनिधि सहभागी हुने कांग्रेस निर्वाचन समितिले जनाएको छ । बुधवार आयोजित पत्रकार सम्मेलनमा निर्वाचन समितिका सदस्य राजु नेपालले करिब सात हजारको हाराहारीमा महाधिवेशन प्रतिनिधि सहभागी हुने जानकारी दिनुभएको छ ।

कांग्रेसका अनुसार रसुवा, नुवाकोट र धादिङलगायत केही जिल्लाको विवरणबाहेक पार्टीमा करिब ८ लाख ७० हजार क्रियाशील सदस्य रहेका छन् । महाधिवेशनअन्तर्गत वडा तहदेखि नै नेतृत्व चयनको प्रक्रिया अघि बढिरहेको छ ।

महाधिवेशनलाई व्यवस्थित र पारदर्शी बनाउन देशभर करिब ९ हजार निर्वाचन अधिकृत परिचालन गरिएको कांग्रेसले जनाएको छ । वडा तहसम्म निर्वाचन प्रक्रिया सञ्चालन गर्न स्थानीय पार्टी संरचनासँग समन्वय गरेर निर्वाचन अधिकृतहरू परिचालन गरिएको हो ।
कांग्रेस केन्द्रीय निर्वाचन समितिले यसअघि सार्वजनिक गरेको कार्यतालिकाअनुसार ६ हजार ७ सय ४३ वटै वडामा अधिवेशन गरी क्षेत्रीय प्रतिनिधि चयन गर्ने, त्यसपछि पालिका, प्रदेशसभा क्षेत्र, प्रतिनिधिसभा क्षेत्र, जिल्ला र प्रदेश अधिवेशन सम्पन्न गरेर असोज १६ देखि १९ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने कार्यक्रम छ ।

निर्वाचन समितिका अनुसार अधिकांश जिल्लामा निर्वाचनसम्बन्धी सामग्री तथा प्रक्रिया अघि बढिसकेको छ । वडा तहदेखि सुरु हुने निर्वाचन प्रक्रियामार्फत कांग्रेसले देशभर ठूलो संख्यामा नयाँ नेतृत्व चयन गर्नेछ ।

कांग्रेसको १५औँ महाधिवेशन प्रक्रियाले देशभर साढे तीन लाखभन्दा बढी पार्टी पदाधिकारी तथा प्रतिनिधि चयन गर्ने अनुमान गरिएको छ । वडा तहमा मात्रै करिब २ लाख ९६ हजार ६ सय ९२ जना निर्वाचित हुने कांग्रेसको आँकलन छ ।
पार्टीले यसपटकको अधिवेशनलाई प्रविधिमैत्री, व्यवस्थित र पारदर्शी बनाउने दाबी गरेको छ । वडा तहदेखि नै निर्वाचन प्रक्रिया सञ्चालन गरी क्रियाशील सदस्यको सहभागितामा नेतृत्व छनोट गर्ने उसको तयारी छ ।

तर, निर्वाचनको तयारीसँगै कांग्रेसभित्र महाधिवेशनको वैधानिकता, क्रियाशील सदस्यता, केन्द्रीय समितिको समायोजन र अधिवेशनको मितिलाई लिएर विवाद पनि चर्किएको छ ।

संस्थापन पक्षले संविधान, पार्टी विधान तथा अदालतका फैसलालाई आधार बनाएर असोज १६ देखि १९ गतेसम्म महाधिवेशन सम्पन्न गर्नुपर्ने अडान राख्दै आएको छ ।

सभापति गगन थापा नेतृत्वको संस्थापन पक्षले महाधिवेशन प्रक्रिया अघि बढिसकेको भन्दै क्रियाशील सदस्यलाई कुनै भ्रममा नपरी वडा अधिवेशनमा सहभागी हुन आह्वान गरेको छ । थापाले असोज ३ र ४ गते हुने वडा अधिवेशनमा सहभागी हुन अपिलसमेत गरेका छन् ।
संस्थापन पक्षले महाधिवेशनलाई रोकिराख्दा पार्टीको सांगठनिक प्रक्रिया थप प्रभावित हुने र नेतृत्व चयन अनिश्चित बन्ने तर्क गर्दै निर्धारित कार्यतालिकाअनुसार अघि बढ्नुपर्ने बताउँदै आएको छ ।

त्यसैगरी, पछिल्लो समय संस्थापन पक्षले असन्तुष्ट पक्षका नेताहरूलाई समेत महाधिवेशन प्रक्रियामा समेट्ने संकेत दिएको छ । १४औँ महाधिवेशनबाट निर्वाचित तर हालको संरचनामा नरहेका नेताहरूलाई सहभागी गराउने तथा क्रियाशील सदस्यताको विषयमा समेत केही लचकता देखाइएको छ ।

अर्कोतर्फ, संस्थापनइतर समूहले भने अहिलेको अवस्थामा असोजमा महाधिवेशन गर्न नहुने अडान राखेको छ । पूर्वसभापति शेरबहादुर देउवा पक्ष तथा संस्थापनइतर नेताहरूले पार्टीको आधिकारिकता, क्रियाशील सदस्यता र दुईवटा केन्द्रीय संरचनाबीचको विवाद समाधान गरेर मात्र महाधिवेशनमा जानुपर्ने माग गर्दै आएका छन् ।

इतर समूहको मुख्य मागमध्ये १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमिति र विशेष महाधिवेशनबाट बनेको केन्द्रीय कार्यसमितिलाई समायोजन गर्ने विषय प्रमुख छ । यसअन्तर्गत १४औँ महाधिवेशनबाट निर्वाचित तर हाल केन्द्रीय संरचनामा नरहेका नेताहरूलाई समेत समेट्नुपर्ने उसको माग छ ।

त्यस्तै, क्रियाशील सदस्यताको नवीकरण र अद्यावधिकमा विभेद नगरी महाधिवेशनमा सहभागी गराउनुपर्ने, निर्वाचन, सदस्यता छानबिन, अनुशासन तथा विधान संशोधनजस्ता महत्वपूर्ण समितिमा दुवै पक्षको सहभागिता सुनिश्चित गर्नुपर्ने माग पनि इतर समूहले अघि सारेको छ ।
इतर समूहले अदालतमा पार्टीको आधिकारिकतासम्बन्धी विषय विचाराधीन रहेकाले त्यसको टुंगो नलागेसम्म महाधिवेशन प्रक्रिया अघि बढाउँदा पार्टी विभाजन झनै संस्थागत हुन सक्ने दाबी गर्दै आएको छ ।

विवादकै बीच कांग्रेसभित्र दुई पक्षले महाधिवेशनका लागि अलग–अलग कार्यतालिका अघि सारेका छन् । संस्थापन पक्षले असोज १६ देखि १९ गतेसम्म काठमाडौँमा १५औँ महाधिवेशन गर्ने कार्यतालिका अघि बढाएको छ । अर्कोतर्फ, संस्थापनइतर समूहले मंसिर २१ देखि २३ गतेसम्म महाधिवेशन गर्ने प्रस्ताव अघि सारेको छ । इतर पक्षले त्यसका लागि असोज १५ गतेदेखि वडा अधिवेशन सुरु गर्ने कार्यतालिका अघि सारेको छ ।
इतर समूहले पछिल्लो समय संस्थापन पक्षले तोकेको असोज ३ र ४ गतेको वडा अधिवेशनमा सहभागी नहुने र आफ्नै कार्यतालिकाअनुसार अघि बढ्ने घोषणा गरेको छ ।

यसरी कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै गर्दा पार्टीभित्रको विवाद अब केवल नेतृत्व चयनको विषयमा सीमित नरही पार्टीको संगठनात्मक संरचना,क्रियाशील सदस्यता,महाधिवेशनको वैधानिकता र आगामी नेतृत्वको स्वरूपसँग जोडिएको छ ।

एकातर्फ संस्थापन पक्षले महाधिवेशन प्रक्रिया रोक्न नहुने र तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्नुपर्ने बताइरहेको छ । अर्कोतर्फ इतर समूहले विवाद समाधान नगरी अघि बढाइने महाधिवेशनले पार्टीभित्रको विभाजन थप गहिरो बनाउने भन्दै पहिले सहमति र त्यसपछि मात्रै महाधिवेशन गर्नुपर्ने अडान राखेको छ ।