चिलिमे जलविद्युत् सुरुङमा ३ शव फेला, २ बाहिर निकालियो


काठमाडौं ।

रसुवाको चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र खोजी तथा उद्धारका क्रममा ३ वटा शव फेला परेका छन्। तीमध्ये २ वटा शव बाहिर निकालिएको छ भने एक शव निकाल्ने कार्य जारी छ।

भदौ १० गते भोटेकोसीमा आएको विनाशकारी बाढीपछि सुरुङभित्र फसेकाहरूको खोजीका लागि स्वदेशी तथा विदेशीसहितको संयुक्त उद्धार टोली परिचालन गरिएको थियो। टोलीले हेलिकप्टरमार्फत स्याफ्रूबेसीमा पुर्‍याइएको Excavator र Loader प्रयोग गरी चट्टान फोड्दै करिब १ हजार ५० मिटर बाटो निर्माण गरेर सुरुङसम्म पहुँच बनाएको थियो।

Debris हटाउने क्रममा सुरुङको करिब ७० मिटरभित्रबाट पानी निस्किरहेको भेटिएपछि उद्धार टोली पानी निस्किएको प्वालबाट सुरुङभित्र प्रवेश गरेको थियो। करिब १३० मिटरभित्रसम्म खोजी गर्दा पानी सुरुङको माथिल्लो भागसम्म पुगेका कारण Excavator प्रयोग गर्न सक्ने अवस्था थिएन।

त्यसपछि आज भदौ ३१ गते गोताखोरसहितको टोलीले उक्त प्वालबाट प्रवेश गरी सुरुङको अन्तिम किनारासम्म खोजी गर्दा ३ शव फेला पारेको हो।

फेला परेका शवमध्ये २ वटा बाहिर निकालिएको र बाँकी एक शव निकाल्ने कार्य भइरहेको उद्धार टोलीले जनाएको छ। सुरुङभित्र थप व्यक्ति फसेको हुन सक्ने आशंकामा खोजी तथा उद्धार कार्यलाई निरन्तरता दिइएको छ।