ईभी दुर्घटनामा ४ जनाको मृत्यु

0
Shares

हेटौंडा ।

मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२, सुकौरामा भएको ईभी गाडी दुर्घटनामा ४ जनाको मृत्यु र ४ जना घाइते भएका छन् । मंगलबार दिउँसो करिब २ बजे काठमाडौंबाट हेटांैडातर्फ आउँदै गरेको म.प्र.०३–००१ ज ०७२० नम्बरको ईभी गाडी सडकबाट करिब ५ सय मिटर तल खसी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । चार जना घाइते छन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरले दिएको जानकारीअनुसार दुर्घटनामा ज्यान गुमाउनेहरुमा नवलपरासीको पूर्व कावासोती नगरपालिका–१ का २४ वर्षीय नरबहादुर सिंह ठकुरी (साथमा रहेको पासपोर्ट÷नागरिकताका आधारमा खुलेको), धनुषाको धनुषाधाम नगरपालिका–४ का ४३ वर्षीय सुरज भट्टराई (साथमा रहेको नागरिकता र राष्ट्रिय परिचयपत्रको आधारमा खुलेको), पर्साको छिपहरमाई नगरपालिका–२ टिहुकीका ४४ वर्षीय भुवनेश्वर साहकानु (राहदानी) र बाराका लिपनीमाल परवानीपुर–३ का ३२ वर्षीय सरफरोस मिया छन् ।

दुर्घटनामा घाइते हुनेहरुमा चालक बाराको कलैया उपमहानगरपालिका–२४ बस्ने वर्ष २० का अमिर अन्सारी, हेटांैडा उपमहानगरपालिका–११ बस्ने वर्ष २३ की कल्पना तामाङ, मकवानपुरको मकवानपुरगढी गाउँपालिका–१ का २३ वर्षीय राजकुमार स्याङ्तान र बाराको महागढीमाई नगरपालिका–११ बस्ने २१ वर्षीया बबियाकुमारी यादब छन् । घाइतेमध्ये अन्सारी, तामाङ र स्याङ्तानलाई उपचारका लागि काठमाडौंस्थित ट्रमा सेन्टर पठाइएको तथा यादवको हेटौंडा अस्पतालमा उपचारपछि वीरगञ्ज रिफर गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रमुख रमेश विष्टका अनुसार घटनास्थलमा प्रहरी र ट्राफिक टोली परिचालन गरिएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीको कमाण्डमा ट्राफिक प्रहरीसहित २१ जना प्रहरी उद्धार तथा अनुसन्धानका लागि परिचालन गरिएको थियो । घटनास्थलमा सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीसमेत खटिएको प्रहरीले जनाएको छ ।