महासेनानी सैनिक सहचारीमा छनोट, कुन देशमा जाने अझै गोप्य


काठमाडौँ ।

 नेपाली सेनाले विभिन्न मित्रराष्ट्रमा सैनिक सहचारीका रूपमा खटाउन ६ जना महासेनानी छनोट गरेको छ। सैनिक सेवा नियमावली, २०६९ तथा सैनिक सहचारी/सैनिक सल्लाहकार छनोट कार्यविधि, २०७१ अनुसार सैनिक मुख्यालयले उनीहरूलाई छनोट गरेको हो।

छनोटमा परेका महासेनानीहरूमा प्रेम हमाल, सुरेश थापा, पवनकुमार खड्का, मीनराज तिवारी, सङ्गीत पुन र दिवाकर रायमाझी छन्।

हमाल नेपाली सैनिक ब्याटल स्कुल, थापा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष निर्देशनालय, खड्का नम्बर ३ बाहिनी अड्डा, तिवारी प्रतिविद्रोह तथा जंगल वारफेयर शिक्षालय, पुन नम्बर ६ बाहिनी अड्डा र रायमाझी प्रधानसेनापतिको कार्यालयमा कार्यरत छन्।

सैनिक मुख्यालयले छनोट भएका अधिकृतहरूलाई सोमबार नै जानकारी गराएको स्रोतले जनाएको छ। उनीहरूलाई कुन–कुन मुलुकमा सैनिक सहचारीका रूपमा पठाउने भन्ने निर्णय भने औपचारिक रूपमा सार्वजनिक गरिएको छैन।

सैनिक सहचारीले विदेशस्थित नेपाली दूतावासमा रहेर सम्बन्धित मुलुकका सैनिक तथा सुरक्षा निकायसँग समन्वय गर्नेछन्। साथै नेपाल र सम्बन्धित मुलुकबीच रक्षा कूटनीति, सैनिक सम्बन्ध र सुरक्षा सहकार्य विस्तारमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछन्।