काठमाडौं।
बाढी प्रभावित क्षेत्रमा नेपाल प्रहरीले उद्धारसँगै स्वास्थ्य सेवा पनि निरन्तर सञ्चालन गरिरहेको छ। नेपाल प्रहरी अस्पताल, महाराजगञ्जले नुवाकोटको विदुरमा पाँच शय्याको लेभल–१ फिल्ड अस्पताल सञ्चालन गरी बाढी प्रभावितलाई निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको छ।
भोटेकोशी तथा त्रिशूली नदी क्षेत्रका प्रभावितलाई लक्षित गरी भदौ १४ गतेदेखि सञ्चालनमा आएको अस्पतालमा विशेषज्ञ चिकित्सकसहित २४ सै घण्टा आकस्मिक सेवा, ओपीडी, औषधि तथा स्वास्थ्य परीक्षणको सुविधा उपलब्ध छ। हालसम्म २ सय ३६ जना बाढी प्रभावितले फिल्ड अस्पतालबाट स्वास्थ्य सेवा लिएका छन्।

बाढीपछि संक्रमणजन्य रोग फैलिन सक्ने जोखिमलाई मध्यनजर गर्दै प्रहरी चिकित्सक टोलीले विभिन्न होल्डिङ सेन्टरमा समेत स्वास्थ्य परीक्षण, औषधि वितरण तथा रोगबाट बच्ने उपायबारे सचेतना कार्यक्रम सञ्चालन गरिरहेको छ। हालसम्म होल्डिङ सेन्टरमा रहेका ८ सय ४९ जनाले स्वास्थ्य सेवा तथा परामर्श प्राप्त गरेका छन्।
विपद्बाट प्रभावित महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा उद्धारमा खटिएका प्रहरी कर्मचारीलाई लक्षित गरी मानसिक स्वास्थ्य परामर्शसमेत प्रदान गरिएको नेपाल प्रहरीले जनाएको छ।

त्यस्तै, बाढीमा बेपत्ता भएका तथा बेवारिसे शवको पहिचानमा सहयोग पुर्याउन फिल्ड अस्पतालबाट डीएनए नमुना संकलन समेत भइरहेको छ।
नेपाल प्रहरी अस्पतालका डीएसपी डा. नारायणप्रसाद अधिकारीका अनुसार विश्व स्वास्थ्य संगठनसँगको समन्वयमा नुवाकोटमा उद्धार तथा राहतमा खटिएका प्रहरी कर्मचारीलाई हैजा महामारीसम्बन्धी सचेतना र खोप कार्यक्रम समेत सञ्चालन भइरहेको छ।











प्रतिक्रिया