इन्द्रसरोवरमा ईभी दुर्घटना: ४ जनाको मृत्यु


हेटौंडा।

मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२, महालक्ष्मी खोलानजिक काठमाडौंबाट हेटौंडातर्फ आउँदै गरेको मधेश प्रदेश ०३–००१ ज ०७२० नम्बर ईभी दुर्घटना हुँदा चार जनाको घटनास्थलमा मृत्यु भएको छ । ईभीमा ८ जना सवार रहेको र उनीहरुमध्ये ६ पुरुष र २ महिला रहेको जनाइएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका चार जनामध्ये तीन जनालाई उपचारका लागि काठमाडौं र एक जनालाई हेटौंडा ल्याइएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका अनुसार घटनास्थलमा प्रहरी र ट्राफिक टोली परिचालन गरिएको छ । दुर्घटनापछि प्रहरी चौकी खानीखेत, इलाका प्रहरी कार्यालय भीमफेदी, जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुर तथा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीको कमाण्डमा ट्राफिक प्रहरीसहित २१ जना प्रहरी उद्धार तथा अनुसन्धानका लागि परिचालन गरिएको थियो । घटनास्थलमा सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीसमेत खटिएको प्रहरीले जनाएको छ । मृतक तथा घाइतेको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।