काठमाडौं ।
रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीको २० दिन बितिसक्दा पनि खोज तथा उद्धार कार्य जारी छ। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका हजारौँ सुरक्षाकर्मी अझै प्रभावित क्षेत्रमा परिचालित छन्।
सुरक्षा निकायका अनुसार नेपाली सेनाका ८ हजार ९०० भन्दा बढी, नेपाल प्रहरीका ७ हजार ९७५ र सशस्त्र प्रहरीका ४ हजार २०३ जनशक्ति खोज तथा उद्धार, राहत वितरण, शव व्यवस्थापन तथा अवरुद्ध संरचना सञ्चालनमा खटिएका छन्।
रसुवाका विभिन्न जलविद्युत आयोजनाका सुरुङमा समेत खोजी कार्य भइरहेको छ। सेनाको कमान्डमा रसुवागढी, लाङटाङ, चिलिमे, माथिल्लो त्रिशूली–ए, त्रिशूली–३ ए र त्रिशूली–३ बी क्षेत्रमा सुरुङ तथा डेब्रिज हटाउने काम भइरहेको छ।
यसैबीच, नेपाल प्रहरीले खोज तथा उद्धारलाई थप प्रभावकारी बनाउन ‘टिमुरे टु त्रिवेणी’ (टीटुटी) अपरेसन सञ्चालन गरेको छ। अपरेसनअन्तर्गत ड्रोन तथा तालिमप्राप्त कुकुरको प्रयोग, शव व्यवस्थापन, डीएनए प्रोफाइलिङ, राहत वितरण, होल्डिङ सेन्टर व्यवस्थापन र ट्राफिक व्यवस्थापनलाई प्राथमिकता दिइएको छ।
प्रहरी प्रधान कार्यालयका अनुसार आइतबार रातिसम्म बाढी प्रभावित विभिन्न जिल्लाबाट १ हजार ३८६ शव फेला परेका छन्। तीमध्ये १ हजार २३९ शव व्यवस्थापनका लागि जमिनमा गाडिएको छ।
शव पहिचानका लागि मृतक तथा आफन्तबाट गरी ३ हजार १३२ वटा डीएनए नमुना संकलन गरिएको प्रहरीले जनाएको छ। पहिचान हुन बाँकी १ हजार ३५४ शवको विवरणसमेत नेपाल प्रहरीको वेबसाइटमा राखिएको छ।











प्रतिक्रिया