काठमाडौँ ।
नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले पार्टीको आधिकारिकतासम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा विशेष महाधिवेशन पक्षधरले एकलौटी रूपमा अधिवेशन र महाधिवेशन अघि बढाउनु उचित नभएको बताएका छन्।
सोमबार पत्रकार सम्मेलन गर्दै डा. कोइरालाले वार्ता, संवाद र सहमतिमार्फत पार्टीको विवाद समाधान गर्नुपर्नेमा जोड दिए। उनले पार्टीको लोकतान्त्रिक मूल्य–मान्यता र संगठनात्मक एकतालाई कमजोर पार्ने कुनै पनि कदम स्वीकार्य नहुने बताए।
संस्थापन इतर समूहका १५औँ महाधिवेशन तयारी समितिका संयोजकसमेत रहेका कोइरालाले पद बाँडफाँडलाई राजनीतिक सहमतिको विकल्प बनाउने प्रयासले कांग्रेसको गौरवशाली इतिहास र लोकतान्त्रिक संस्कार कमजोर पार्ने धारणा राखे। उनले नेता–कार्यकर्ताको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन नसक्ने बताए।
विशेष महाधिवेशनका नाममा थप विवाद सिर्जना नगर्न आग्रह गर्दै उनले विधि र प्रक्रिया मिचेर हुने भनिएको अधिवेशन तथा महाधिवेशनमा सहभागी नहुन नेता–कार्यकर्तालाई अपिल गरे।
उनले १४औँ महाधिवेशनबाट निर्वाचित वैधानिक नेतृत्वले सार्वजनिक गरेको कार्यतालिकाअनुसार असोज १५ गतेदेखि हुने वडा तहका अधिवेशनमा सक्रिय सहभागिता जनाउँदै मङ्सिर २१, २२ र २३ गते हुने केन्द्रीय महाधिवेशन सफल बनाउन कांग्रेसका नेता–कार्यकर्तालाई आग्रह गरे।













प्रतिक्रिया