पोखराबाट दुबई उडान असोज ७ देखि


पोखरा । 

फ्लाइ दुबईले आगामी असोज ७ गतेदेखि पोखरा–दुबई नियमित उडान सुरु गर्ने भएको छ। पहिलो उडान साँझ ६ः१५ बजे पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने र ७ः१५ बजे यात्रुसहित दुबईका लागि प्रस्थान गर्ने तालिका सार्वजनिक गरिएको छ।

विमानस्थलका सूचना अधिकारी विनोदसिंह रावतका अनुसार फ्लाइ दुबईले यात्रुको चापअनुसार एयरबस ३१९ र ३२० मार्फत उडान सञ्चालन गर्नेछ। एयरबस ३१९ मा १४० देखि १५० तथा एयरबस ३२० मा १६० देखि १८० यात्रु क्षमताको व्यवस्था रहेको छ। पोखराबाट दुबई फर्किने क्रममा यात्रुसँगै कार्गोसमेत लैजाने तयारी छ।

फ्लाइ दुबईले सुरुमा एक महिनाका लागि दैनिक एक उडान गर्ने घोषणा गरे पनि सन् २०२७ मार्च २६ सम्मको बुकिङ खुला गरेको जनाएको छ। दुबई हुँदै विश्वका विभिन्न गन्तव्यमा जाने यात्रुले फ्लाइ दुबई र इमिरेट्सबीचको कोडसेयर साझेदारीमार्फत एउटै टिकटबाट यात्रा गर्न सक्नेछन्।

नेपाल नागरिक उड्डयन प्राधिकरणले गत जेठ २५ गते फ्लाइ दुबईलाई पोखरा–दुबई उडानको अनुमति दिएको थियो। पोखराबाट नियमित अन्तर्राष्ट्रिय उडान सुरु हुन लागेको यो दोस्रो व्यावसायिक अन्तर्राष्ट्रिय सेवा हो। यसअघि हिमालय एयरलाइन्सले पोखरा–ल्हासा उडान सुरु गरे पनि यात्रु अभावका कारण हाल स्थगित छ।

पोखरा–दुबई सिधा उडानले पोखरालाई अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोड्नुका साथै पर्यटन, व्यापार तथा आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ। गण्डकी प्रदेशसहित आसपासका क्षेत्रका यात्रुलाई दुबई हुँदै युरोप, अमेरिका, अष्ट्रेलिया, जापानलगायत विभिन्न अन्तर्राष्ट्रिय गन्तव्यमा पुग्न सहज हुने पर्यटन व्यवसायीको विश्वास छ।

पहिलो उडानको अवसरमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पानीको फोहोरा (वाटर क्यानन) सहित फ्लाइ दुबईको जहाज र यात्रुलाई स्वागत गर्ने तयारी गरिएको छ। उडानलाई दीगो बनाउन सरकारी निकाय, पर्यटन व्यवसायी तथा निजी क्षेत्रले प्रवर्द्धन र बजारीकरणमा सहकार्य गर्ने जनाएका छन्।