तीजमा पशुपतिमा कडा सुरक्षा, बिहान ७ बजेसम्म करिब ९ हजार दर्शनार्थीले गरे दर्शन


काठमाडौं ।

हरितालिका तीजको अवसरमा पशुपतिनाथ मन्दिर क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ। दर्शनार्थीको भीडलाई मध्यनजर गर्दै नेपाल प्रहरी र सशस्त्र प्रहरीले सुरक्षा, उद्धार, स्वास्थ्य, खानेपानी तथा ट्राफिक व्यवस्थापनका लागि ठूलो संख्यामा जनशक्ति परिचालन गरेका छन्।

पशुपतिनाथ मन्दिरका चारवटै ढोका बिहान ३ः१५ बजेदेखि खुला गरिएको थियो। बिहान ७ बजेसम्म करिब ९ हजार दर्शनार्थीले दर्शन गरिसकेका छन् भने करिब ३ हजार दर्शनार्थी दर्शनका लागि लाइनमा रहेको प्रहरीले जनाएको छ।

सुरक्षाका लागि नेपाल प्रहरीले दुई सिफ्टमा २ हजार ५ सयभन्दा बढी र सशस्त्र प्रहरीले करिब ८ सय जनशक्ति परिचालन गरेको छ। सुरक्षाकर्मीले सीसीटीभी, ड्रोन र सञ्चार प्रविधिमार्फत निगरानी बढाएका छन्।

सशस्त्र प्रहरीले स्वास्थ्य टोली, एम्बुलेन्स र खानेपानी ट्यांकरसमेत परिचालन गरेको छ। बागमती नदी किनारमा गोताखोरसहितको उद्धार टोलीलाई तयारी अवस्थामा राखिएको छ।

तीज अवधिभर अवाञ्छित गतिविधि रोक्न पशुपति क्षेत्र तथा तिलगंगा, जय बागेश्वरी, गुह्येश्वरी, विश्वरूपा मन्दिर र गौरीघाटलगायत क्षेत्रमा समेत गस्ती बढाइएको छ। सुरक्षा निकायबीच समन्वयका लागि पशुपति परिसरमा कमान्ड पोस्ट स्थापना गरिएको छ।