देशका लागि योगदान गर्ने नै वास्तविक कर्मयोगी : पूर्वराष्ट्रपति डा. यादव


ललितपुर ।

पूर्वराष्ट्रपति डा. रामवरण यादवले देश र समाजका लागि योगदान गर्ने व्यक्तिहरू नै वास्तविक रूपमा सफल र कर्मयोगी हुने बताएका छन्। उनले सम्मानित व्यक्तित्वहरूलाई आगामी दिनमा पनि देश विकासमा निरन्तर योगदान गर्न आग्रह गरे।

सिजन मिडियाको आयोजनामा आइतबार ललितपुरमा सम्पन्न ‘एसियन प्रोफेसनल एचिभमेन्ट अवार्ड नेपाल २०२६’ को ग्रान्ड अवार्ड समारोहमा उनले नेपालसहित विभिन्न एसियाली मुलुकका उत्कृष्ट व्यक्तित्व तथा संस्थालाई सम्मान गर्ने कार्यक्रम महत्वपूर्ण रहेको बताए।

नेपालका लागि बङ्गलादेशका राजदूत मोहम्मद साफिकुर रहमानले अवार्डले उत्कृष्टता, समर्पण र योगदानको सम्मान गर्दै युवालाई समाजसेवातर्फ प्रेरित गर्नुका साथै नेपाल–बङ्गलादेशबीच जनस्तरको सम्बन्ध र सांस्कृतिक सहकार्य सुदृढ गर्न योगदान पुर्‍याउने बताए।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले सफलता निरन्तरको लगनशीलताबाट प्राप्त हुने उल्लेख गर्दै विभिन्न क्षेत्रमा योगदान गर्ने व्यक्तित्वलाई सम्मान गरेकोमा आयोजकप्रति आभार व्यक्त गरे। उनले सम्मानित व्यक्तित्वलाई समाजप्रति जिम्मेवार भएर निरन्तर क्रियाशील रहन आग्रह गरे।