सुर्खेत ।
कर्णाली प्रदेश सरकारले पर्यटन क्षेत्रको संरक्षण, पूर्वाधार विकास र प्रवर्द्धनका लागि चालु आर्थिक वर्षमा ५३ करोड ८६ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ।
सरकारले मुगुको रारा ताल, सुर्खेतको काँक्रेविहार, बुलबुले उद्यान तथा चौहान पार्क, सल्यानको कुपिण्डे दह र रुकुम पश्चिमको स्यार्पु तालको गुरुयोजना कार्यान्वयनका लागि मात्रै २१ करोड ३५ लाख रुपैयाँ छुट्याएको छ।
पर्यटन क्षेत्रको विकासअन्तर्गत पार्क, उद्यान, पदमार्ग, दृश्यावलोकन स्थल तथा प्राकृतिक, धार्मिक र सांस्कृतिक पर्यटन पूर्वाधार निर्माण एवं स्तरोन्नतिलाई प्राथमिकता दिइएको छ। उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री कल्याणी खड्काले पर्यटनलाई पूर्वाधार विकास, सेवा सुधार र गन्तव्य व्यवस्थापनसँग जोडेर अघि बढाउने बताइन्।
प्रदेश सरकारले पर्यटन क्षेत्रलाई रोजगारी र स्थानीय अर्थतन्त्रसँग जोड्न ‘कर्णाली पर्यटन दशक’ घोषणा गर्ने कार्यक्रमसमेत अघि सारेको छ। यसअन्तर्गत गन्तव्यको संरक्षण, पहुँच विस्तार, प्रचारप्रसार, पर्यटन सेवाको गुणस्तर सुधार तथा स्थानीय जनशक्तिको सीप विकासमा जोड दिइनेछ।
कर्णालीका रारा, शे–फोक्सुण्डो, स्यार्पु, कुपिण्डे, काँक्रेविहार, पञ्चकोशी, सिञ्जा र लिमी उपत्यकासहित प्राकृतिक, धार्मिक तथा ऐतिहासिक सम्पदालाई पर्यटन सञ्जालमा जोड्ने सरकारको योजना छ।
तर पर्यटकीय गन्तव्यसम्म पुग्ने सडक, यातायात, आवास, खानेपानी, सञ्चार तथा सूचना प्रणाली कमजोर रहेकाले बजेटको प्रभावकारी कार्यान्वयन चुनौतीपूर्ण रहेको पर्यटन व्यवसायीहरूको भनाइ छ। उनीहरूले पूर्वाधार निर्माणसँगै प्रचारप्रसार, सेवा गुणस्तर र स्थानीय समुदायको आम्दानी बढाउने कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने बताएका छन्।











प्रतिक्रिया