काठमाडौं ।
वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले काठमाडौंको बाढी जोखिम न्यूनीकरणका लागि चोभारको पानी निकासको वैकल्पिक व्यवस्था गर्न महानगरपालिकालाई सुझाव दिएका छन्।
काठमाडौंका विभिन्न स्थानबाट आउने पानी चोभारको साँघुरो निकास हुँदै बाहिरिने भएकाले त्यहाँ समस्या आए ठूलो विपद् निम्तिन सक्ने भन्दै उनले वैकल्पिक पानी निकासका लागि सुरुङ निर्माणको सम्भाव्यता अध्ययन गर्न आग्रह गरेका हुन्।
काठमाडौं महानगर प्रहरी बलको ३४औँ वार्षिकोत्सवमा बोल्दै श्रेष्ठले काठमाडौं उपत्यका बाढी तथा अन्य प्राकृतिक विपद्को जोखिमबाट मुक्त नरहेको बताए। उनले सम्भावित विपद् आउनुअघि नै पूर्वतयारी र वैकल्पिक उपाय खोज्नुपर्नेमा जोड दिए।
श्रेष्ठले जलवायु परिवर्तन र वातावरण विनाशका कारण नेपालमा बाढी, पहिरो तथा हिमताल फुट्ने जोखिम बढेको भन्दै सतर्कता अपनाउन आग्रह गरे। साथै, कानुनको पालना गराउने क्रममा काठमाडौं महानगर प्रहरीले गरेको कामको प्रशंसा गर्दै उनले प्रहरीको मनोबल उच्च राख्नुपर्ने बताए।











प्रतिक्रिया