काठमाडौं ।
नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले काठमाडौंको ट्राफिक व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन एआई–सक्षम सीसीटीभीलगायत आधुनिक प्रविधिको प्रयोग बढाउनुपर्ने बताउनुभएको छ।
काठमाडौं महानगर प्रहरी बलको ३४औँ वार्षिकोत्सवमा बोल्दै कार्कीले ट्राफिक प्रहरीलाई सडकमा जोखिम मोलेर उभिएर हात हल्लाउँदै सवारी व्यवस्थापन गर्नुपर्ने अवस्थाको अन्त्य गर्दै वैज्ञानिक र व्यवस्थित प्रणाली विकास गर्नुपर्ने बताउनुभयो।
उहाँले व्यवस्थित बस स्टप, बसपार्क, पार्किङ स्टेसन तथा वैज्ञानिक पार्किङ प्रणाली विकाससँगै फुटपाथ व्यवस्थापन र आपत्कालीन उद्धार प्रणालीलाई प्रभावकारी बनाउन महानगरपालिका र सुरक्षा निकायबीच सहकार्य आवश्यक रहेको बताउनुभयो।
कार्कीले बढ्दो जनसङ्ख्या, सहरीकरण र सवारी चापसँगै फोहोरमैला व्यवस्थापन, वातावरण संरक्षण, सम्पदा संरक्षण तथा विपद् व्यवस्थापनमा पनि स्थानीय तह र नेपाल प्रहरीबीच सहकार्य बढाउनुपर्नेमा जोड दिनुभयो।
स्थानीय तहले प्रहरी कार्यालय निर्माण तथा मर्मत, सवारीसाधन, विपद् उद्धार सामग्री र सीसीटीभी जडान तथा विस्तारमा सहयोग गर्नुपर्ने उहाँको भनाइ थियो। यसबाट प्रहरी, महानगर प्रहरी र नागरिकबीचको समन्वय थप प्रभावकारी हुने उहाँले बताउनुभयो।











प्रतिक्रिया